धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा रहेको धारणा व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ सुनसरीले आइतबार प्रेस स्वतन्त्रताको सवालमा तीन दिनभित्र उनको धारणा माग्दै ध्यानाकर्षण गराएपछि सोमबार उपमहानगरको लेटरप्याडमा उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
महासङ्घले पत्रकार तथा सञ्चार संस्थाप्रति नगरप्रमुखले व्यक्त गरेका अमर्यादित अभिव्यक्ति फिर्ता लिन र प्रेस स्वतन्त्रताप्रति धारणा सार्वजनिक गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको थियो तर, उनले पत्रकार र सञ्चार संस्थाप्रतिको अमर्यादित अभिव्यक्तिप्रति भने केही उल्लेख गरेका छैनन् ।
बरु आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको तर, पत्रकारले कहिल्यै पक्षधरता लिन नहुने अडान राखेका छन् । प्रेस स्वतन्त्रताको नाममा जथाभावी आरोप लगाउने, चरित्र हत्या गर्ने र अपुष्ट समाचार सम्प्रेषण गर्ने छुट कसैलाई नभएको भन्दै उनले स्वतन्त्र पत्रकारिताले मात्र वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सक्ने उल्लेख गरेका छन् ।
नगरप्रमुख राईले प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा उल्टै उपमहानगरपालिकाको मान हानि भएको दाबी गरेका छन् । गैर जिम्मेवार अभिव्यक्ति र अपुष्ट खबरले जनतामा शङ्का उपशङ्का उत्पन्न भएकाले गालीगलौज र आरोप प्रत्यारोप भइरहेको भन्दै उनले स्थिति बिग्रन गए झै–झगडासमेत हुनसक्ने चेतावनी दिएका छन् ।
तर, कुन समाचार अपुष्ट भन्ने उनले विज्ञप्तिमा उल्लेख गरेका छैनन् । स्मरण रहोस्, ब्लाष्टले उपमहानगरपालिकामा मेयरले विधि प्रक्रिया विना कर्मचारी नियुक्ति गरेको विषयमा समाचार सम्प्रेषण गरेको थियो । उनले यो विषयलाई ढाकछोप गर्ने तरिकाले विज्ञप्ति जारी गरेको सञ्चारकर्मीहरूले उल्लेख गरेका छन् ।