मोरङ । मोरङको बेलबारीस्थित  एक बङ्गुर फार्ममा  ‘अफ्रिकन स्वाइन फिभर’ को लक्षण देखापरेको छ । सो फार्मका बङ्गुर मर्न थालेपछि नमुना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।  

बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फार्ममा रहेको बङ्गुुरमा सो रोगको लक्षण देखापरेको हो ।  चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फार्मका सञ्चालक धीरेन लिम्बूले बताए ।

‘केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो’ वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्ष कोरियामा बिताएका उनले विदेशमा सिकेको सीप स्वदेशमै गर्नुपर्छ भनेर पुँजीसँगै सीप भित्र्याएका थिए ।

२५ लाखभन्दा धेरैको नोक्सानी भएको उनले जानकारी दिए । छेउमै रहेका बाख्रा फार्म र माछा पोखरीमा भने उक्त रोगले असर नदेखाएको जनाइएको छ । उनले २२ कठ्ठा जमिनमा तीन वर्षअघिदेखि फार्म सञ्चालन गर्दै आएका छन् ।

बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले भने, ‘अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षण लागि विराटनगर हुँदै काठमाडाैँ पठाइएको छ ।’

रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुनसक्छ तर, प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउञ्जेल यकिन भन्न नसकिने उनले बताए । उनका अनुसार यो रोगको लक्षण दुई वर्षअघिमात्र नेपालमा भित्रिएको हो ।