विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले जङ्गल अतिक्रमण गरेर बनाएको कृषि बजारको निर्माण कार्य पूर्णरूपमा रोकिएको छ ।
कानेपोखरी गाउँपालिका–७ कानेपोखरी चोकदेखि उत्तरतर्फ पर्ने जनजागृति सामुदायिक वनको जग्गा अतिक्रमण गरेर बनाएको संरचना रोकिएको हो । विकासको नाममा विनाश भएको भनी ब्लाष्टले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि डिभिजन वन कार्यालय मोरङले जङ्गल अतिक्रमण गरी बनाउँदै गरेको संरचना तत्काल रोक्न गाउँपालिकालाई पत्राचार गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामलखन ठाकुरले बताए ।
‘जङ्गल अतिक्रमण गरी संरचना बनाएको हामीलाई पनि थाहा थिएन’ उनले भने, ‘पत्रपत्रिकामा समाचार आएपछि हामीले पनि थाहा पायौँ । त्यसपछि सवडिभिजन वन कानेपोखरीलाई निरीक्षण गर्न लगाएपछि जङ्गल अतिक्रमण गरी संरचना बनाएको पाइयो । त्यसपछि हामीले तत्काल निर्माण कार्यमा रोक लगाएका हौँ ।’
सवडिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख मोहम्मद अलाउद्दीनले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर संरचनाहरू निर्माण गर्न थालेपछि अहिले निर्माणको काम रोकिएको बताए । ‘हामीलाई जानकारी नदिइकन सामुदायिक वन अतिक्रमण गरेर कृषिबजारको नाममा टहरा बनाउन थालेको पाइएपछि हामीले निर्माण कार्य रोकेका छौँ’ उनले भने, ‘बनेको टहराको विषयमा के गर्ने भन्ने विषयमा अन्यौल छ ।’
वनको करिब ४ कठ्ठा जग्गा अतिक्रमण गरी कानेपोखरी गाउँपालिकाले कृषिबजारका लागि दोस्रो चरणको संरचना बनाउन सुरु गरेको थियो । गाउँपालिकाले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गतको बजेटमार्फत् ४९ लाख ८४ हजार रुपैयाँ लागतमा कृषिबजारका लागि संरचना निर्माण सुरु गरेको छ । पहिलो चरणमा आर्थिक वर्ष २०७८÷०७९ मा सुनसरीको दुहबीस्थित एसएनए निर्माण सेवाले २५ लाख ३ हजार ६३ रुपैयाँमा ४३.५ वर्गमिटरको दुईवटा टहरा निर्माण गरेको छ । युपिभिजीको छानासहित ट्रस २०७९ असार मसान्तमा सम्पन्न गरेको थियो ।
क्रमागत बजेट आएपछि २०७९÷०८० मा पनि कृषि बजारको अधुरो संरचना निर्माणका लागि २४ लाख ८४ हजार २ सय ३८ रुपैयाँमा सोही निर्माण सेवाले पुनः ठेक्का पाएको थियो । गत वैशाख २६ गते सम्झौता भएपछि निर्माणको काम सुरु गरेको थियो । वनक्षेत्र अतिक्रमण गरी अपायक स्थानमा कृषिबजार निर्माण गरिएको भन्दै स्थानीयले आलोचना पनि गरेका थिए । तत्कालीन गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेकै पालादेखि भौतिक संरचना निर्माण सुरु भएको हो । वनक्षेत्रलाई संरक्षण गर्नुपर्नेमा उल्टो क्षति पु¥याएर कृषिबजारका लागि अपायक पर्ने स्थानमा निर्माण गरेपछि विवाद भएको छ ।