वराहक्षेत्र । साउदी अरबमा नेपाली बिचल्ली परेको विषयमा म्यानपावर कम्पनीले होटल सफाइ कामदारका रूपमा पठाएको बताएको छ । 

काठमाडौं सिनामङ्गलस्थित केपी इन्टरनेशनल ओभरसिज प्राइभेट लिमिटेडका सञ्चालक निर्मल राय अमातले ब्लाष्ट टाइम्सलाई भिडियो सामग्री पठाउँदै होटल सफाइ कामदारका रूपमा पठाएको दाबी गरे । उनले कामदारहरूले झुटो बोलेको आरोप पनि लगाए । बुधबार अमातले ह्वाट्सएपमार्फत् पठाएको पत्र र भिडियोमा अल अवाम कन्ट्राक्टिङ कम्पनीमा मक्का सहरको होटलमा क्लिनरको काम गर्न पठाएको उल्लेख छ । ब्लाष्टलाई पत्रसमेत पठाउँदै केपी ओभरसिजका सञ्चालक अमातले १८ जनालाई नै होटल क्लिनरमा पठाएको उल्लेख गरेका छन् । तीन चरण गरी १८ जनालाई मस्जिद क्लिनरमा नपठाएको तर, कामदारले मस्जिदमा पठाएकाले अन्यत्र काम नगर्ने भन्दै विवाद झिकिरहेको दाबी गरे । 

यता पहिलो चरणमा गएका एमडी रमातुल्ला नदाव, मोहम्मद फैसल इमाम, मोहम्मद बिलाल, मोहम्मद रुस्तम आलम र इमाम हुसैनले काम गरेको दुई महिनाभन्दा बढीको तलब कम्पनीले नदिएको भिडियो सामग्री ब्लाष्टकर्मीलाई पठाएका थिए । भिडियो फुटेजमा एमडी रमातुल्ला नदाव र मोहम्मद फैसलले २ महिनाभन्दा बढी समय बितिसक्दासमेत तलब नदिएको बताए । उनीहरूले पठाएको सम्झौता पत्रमा ८ घण्टा काम गर्नु पर्ने उल्लेख गरिएको भए पनि अमातले पठाएको भिडियोमा १० घण्टा दैनिक काम गर्नुपर्ने र होटल क्लिनरको काम गर्नुपर्ने उल्लेख गरेका छन् । 

आइतबारसम्म उनीहरूलाई अरू नै कम्पनीमा काम गराउनका लागि कम्पनी परिवर्तन गरिन लागिएको सद्दाम हुसैनले बताए । म्यानपावर कम्पनीले साउदीमा पठाउनुअघि सबैलाई राखेर भिडियो निर्माण गरेका छन् । उक्त भिडियोमा १० घण्टा काम गरेबापत साउदीको एक हजार रियाल दिने भन्दा उनीहरूले स्वीकार गरेका छन् । साउदी गएपछि कुनै पनि खालको विवाद, झगडा नगर्न आग्रह गर्दै अकमा (काम गर्नका लागि दिइने अनुमति पत्र) बनाउञ्जेलसम्म काम नदिन पनि सक्ने भनी सञ्चालक अमातले भनेका छन् । यता साउदी पुगेका कामदारहरूले भने आफूहरूमाथि धाकधम्की दिँदै आएको र काम पनि नदिएको उल्लेख गर्दै आएका छन् ।