विराटनगर । भारत बिहारको बथनाहाबाट विराटनगर–१८ एकीकृत भन्सार जाँच पास बिन्दु (आइसिपी) अगाडि निर्माण भएको कष्टम यार्डसम्म कार्गो रेल आइपुगेको छ । रेलको लिक सफल परीक्षण भएको चार वर्षपछि नियमित सञ्चालन हुने वाचासहित बिहीबारदेखि कार्गो रेल सेवा सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीमा कस्टम यार्डको संयुक्तरूपमा उद्घाटन गरेर कार्गो रेल सञ्चालन भएको छ । दुवै देशका प्रधानमन्त्रीले झण्डा देखाएर रेल सेवाको संयुक्तरूपमा थालनी गरेका हुन् । बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको दूरीमा पहिलो पटक २०७६ कात्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । यो रेलको लिकको २०७६ सालमै सफल परीक्षण भएको थियो । कार्गो रेल नियमित हुने भएपछि विराटनगरका उद्योगीहरू उत्साहित बनेका छन् । रेल सेवाले ढुवानी भाडा आधा सस्तो पर्ने बताउँदै उद्योगीहरूले यसको विनाशर्त नियमित सञ्चालन गरिनुपर्ने माग राखेका छन् । बथनाहाबाट एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्मको ७ दशमलव ६ किलोमिटर लामो छ । विराटनगरस्थित आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको औद्योगिक कच्चापदार्थ बोकेर कार्गो रेल विराटनगर आइपुगेको छ । औद्योगिक कच्चापदार्थ बोकेर रेल आइसिपी आइपुग्दा नेपाली पक्षले भव्य स्वागत गरेको छ । स्थानीय उद्योगी व्यवसायी, स्थानीयवासी र सरकारी प्रतिनिधिहरूले स्वागत गरेका हुन् ।
कस्टम यार्डसम्म कार्गो रेल सेवाले औद्योगिक कच्चा पदार्थको ढुवानीमा कम्तीमा ४० प्रतिशत लागत न्यून हुने भएकाले उत्पादन लागत पनि कम हुने मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले बताए । ‘हामीले लामो समयदेखि कार्गो रेल सेवा सञ्चालनको माग गर्दै आएका थियौँ’ मोरङ व्यापार सङ्घका अध्यक्षसमेत रहेका उद्योगी नवीन रिजालले भने, ‘हाम्रो माग बल्ल पूरा भएको छ । अब यसको नियमितता हुनुपर्छ भन्ने हाम्रो माग छ ।’
नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्यसमेत रहेका रिजालका अनुसार रेलबाट औद्योगिक सामान ढुवानी हुन थालेपछि अहिलेको भन्दा ढुवानी खर्च आधाभन्दा सस्तो पर्नेछ । ‘अहिले हामीले औद्योगिक कच्चापदार्थ प्रतिकेजी सातदेखि आठ रुपैयाँसम्ममा ढुवानी गरिरहेका छौं’ रिजालले भने, ‘रेल सेवाबाट सामान ल्याउँदा प्रतिकेजी अढाई रुपैयाँ मात्रै पर्छ ।’
रेल सेवाबाट सामान ढुवानी हुँदा अहिलेभन्दा छिटो हुने पनि उनको भनाइ छ । ‘अहिले हाम्रो सामान कोलकाताबाट तीन–चार दिन लगाएर मात्रै विराटनगर आइपुग्छ’ उनले भने ‘तर, अब कोलकाताबाट एकै दिनमा सामान विराटनगर आइपुग्छ । यो सेवाले हामीलाई ठूलो राहत मिल्नेछ ।’ विराटनगरस्थित रानी भन्सार नाकाबाट दैनिक सरदर ३ सय ट्रक नेपाल आउने गरेको छ । जसमा झण्डै ४ हजार ५ सय टन मालवस्तु हुन्छ । ‘त्यसमध्ये ८० प्रतिशत मालवस्तु भारतबाट र २० प्रतिशत मालवस्तु तेस्रो मुलुकबाट आउने गरेको छ’ उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष सुयस पोखरेलले भने, ‘कार्गो रेल नियमित सञ्चालन हुँदा तेस्रो देशबाट आउने शतप्रतिशत र भारतीय बजारबाट आउनेमध्ये ६० प्रतिशतभन्दा धेरै सामान रेलबाटै आउने हाम्रो अनुमान छ ।’ आर्थिक मन्दीका कारण शिथिल हुँदै गएका यस क्षेत्रका उद्योगलाई राहत पुग्ने उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीको भनाइ छ ।
भारतको बथनाहाबाट मोरङको विराटनगरस्थित आइसिपीको कष्टम यार्डसम्म कार्गो रेल ल्याउने लामो प्रतीक्षा बिहीबार समाप्त भए पनि अहिलेभन्दा पनि अझै वरसम्म रेल ल्याउने नेपाली सपना भने मुआब्जा विवादले अलपत्र नै छ ।
रेलको लिक परीक्षण सफल भएको चार वर्षपछि विराटनगरको दक्षिणी विन्दुमा आइपुगेको रेल त्यहाँभन्दा ८ किलोमिटर उत्तर कटहरीसम्म सञ्चालन गरिने तयारी छ । यद्यपि बाँकी आठ किलोमिटर क्षेत्रमा रेलको लिक निर्माण कार्य जारी छ । बथनाहा–कटहरी रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका–१ मा जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको छ । कटहरीमा लगभग ६ विगाहा जमिनको मुआब्जा विवादले काम रोकिएको छ । यदि यो विवाद मिलेर रेल कटहरीसम्म आइपुग्ने हो भने ढुवानी खर्च अझै घट्ने र झण्डै आठ किलोमिटर दूरी छोटो हुने उद्योगीहरूको भनाइ छ । बिहारको बथनाहाबाट मोरङको कटहरीसम्मको रेलको लिक निर्माण कार्य २०६८ मा सुरु भएको थियो । रेलको लिक निर्माण कार्यको प्रारम्भिक लक्ष्यअनुसार सबै काम २०७३ मै सकिनुपर्ने थियो ।
यद्यपि कटहरीको मुआब्जा विवाद हल हुन नसक्दा यो काम अहिलेसम्म अपूरै छ । त्यसबेला बनेको मुआब्जा निर्धारण समितिले कटहरीका जग्गाधनीहरूलाई रेलको लिकमा पर्ने जग्गाको मूल्य प्रतिकठ्ठा २ लाख तोकेको थियो । मुआब्जाको दर ज्यादै कम्ती भएको भन्दै जग्गाधनी सर्वसाधारणले विरोध जनाएका थिए । मुआब्जाको दर हेरफेर हुनुपर्ने मागसहित अदालत पुगेका सर्वसाधारणलाई अदालतले राहतकारी फैसला गर्दै प्रतिकठ्ठा ८ लाख रुपैयाँका दरले मुआब्जा दिन भनेको थियो ।
सरकारले अदालतको फैसलाअनुसार मुआब्जा दिनै नचाहेको भन्दै कटहरीका जग्गाधनीहरू फेरि सर्वोच्च पुगेका छन् । यही विवादले कटहरी क्षेत्रमा लिक बिछ्याउने काम अघि बढ्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि यस विषयमा भन्सार र भारतीय रेल्वेका अधिकारीले विराटनगरका उद्योगी व्यवसायीसँग छलफल गरेका थिए । रेल सेवा नहुँदा बथनाहासम्म आएको रेल कार्गोको लोड÷अनलोड गरी फेरि ट्रकमा लोड गरी भन्सारसम्म ल्याउनु पर्ने र जाँचपास गरी गन्तव्यतर्फ लैजानु पर्ने बाध्यता थियो । अब यो झन्झट पनि अन्त्य भएको छ ।