धरान/परिवर्तनका लागि सामाजिक अभियानको प्रथम साधारणसभाले पुनः विष्णु बरालको अध्यक्षतमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

शुक्रबार धरान १२ स्थित होटल पूर्वीस्टारमा आयोजित सभाले समितिको उपाध्यक्षमा भोजराज श्रेष्ठ, सचिवमा त्रिभुवन बराल, कोषाध्यक्षमा वर्षा अग्रवाल श्रेष्ठलाई चयन गरेको छ । यसै गरी सदस्यहरूमा विदुर थापा, प्रशान्त अग्रवाल, हेम ढकाल, जेनिश शाक्य, निशान नेपालसहित थप दुई जना सदस्य थप गर्ने अध्यक्ष बरालले जानकारी दिए ।

उनका अनुसार विधानमा अध्यक्षले दुई जना सदस्य मनोनित गर्न सक्ने व्यवस्था भएअनुसार आगामी बैठकले दुई जना सदस्य थप गरिनेछ । यस्तै समितिको सल्लाहकारमा मुटुरोग विशेषज्ञ डा. प्रशान्त साह, वासुदेव बराल र मोहन श्रेष्ठलाई चयन गरेको छ । अधिवेशनमा सचिव विदुर थापाले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष वर्षा अग्रवाल श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । 

संस्थाले स्वास्थ्य र शिक्षा क्षेत्रमा स्वयम्सेवकको रूपमा काम गर्दै आइरहेको छ । स्वास्थ्यमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई पाक्षिक रूपमा मुटुरोग विशेषज्ञ डा. साहको सहकार्यमा सामाजिक स्वास्थ्य क्लिनिक आयोजना गरिँदै आएको छ । यस्तै शिक्षामा ‘घरको स्कुल’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

घरको स्कुल कार्यक्रमलाई अझ व्यवस्थित बनाउनका लागि घरका स्कुलका संयोजक भोजराज श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यमा त्रिभुवन बराल र राजु फुयाँल छन् । यस समितिले धरानका विभिन्न क्षेत्रमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने छ । त्यस्तै संस्थाको एप्सको प्राविधिक पक्षबारे सदस्य निशान नेपाललाई जिम्मेवारी दिइएको छ । 

२०७८ भदौ ७ गते स्थापना भएको संस्थाले धरानसहित झापा, इनरुवा, वराहक्षेत्रमा पनि सामाजिक स्वास्थ्य क्लिनिक आयोजना गरेको थियो ।