विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ भाउन्नेस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर लिम्बूले मिलेमतोमा १७ लाख ५५ हजार मूल्य बराबरको काठ अनियमितता गरेको तथ्य खुलेको छ ।
उक्त मूल्य बराबरको नौ सय ५५ क्यु.फिट काठ अनियमितता गरेको डिभिजन वन कार्यालय मोरङले बनाएको छानबिन समितिको प्रतिवेदनमा आएको छ । वनभित्रको घाटगद्दीको साल र अन्य विभिन्न प्रजातिको काठ अध्यक्ष छत्रबहादुरले आफूखुसी बिक्री गरी साढे १७ लाखभन्दा बढी रकम आर्थिक अनियमिमता गरेको पाइएको हो । आरोपित अध्यक्ष नेपाली काङ्ग्रेस बेलबारीका नगर सभापति पनि हुन् । उनले विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
२०७९ साउनमा अध्यक्षले वनको घाटगद्दीमा रहेको काठ आफूखुसी उपभोक्ताहरूलाई बिक्री गरेको फर्जी बिल देखाएर व्यापारीलाई बिक्री गरेको पाइएको छ । अध्यक्षले विभिन्न उपभोक्ता तथा केही संस्थालाई कीर्ते कागजात बनाई काठ बिक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताए । ‘सामुदायिक वनको घाटगद्दीमा रहेको काठ अन्यत्र बिक्री गरेपछि अध्यक्ष लिम्बूले उपभोक्तालाई बिक्री गरेको देखाउन फर्जी रसिद दिएको पाइएको छ’ डिभिजन वन अधिकृत घिमिरेले भने, ‘रसिद काटेको उपभोक्तालाई खोजी गरी सोेधखोज गर्ने क्रममा उनीहरूले काठ नपाएको बताएका छन् ।’
अहिलेसम्म अध्यक्ष छत्रबहादुरले सामुदायिक वनको काठ कहाँ, कसलाई बिक्री गरे त्यो भने खुलिसकेको छैन । ‘छानबिन प्रतिवेदन सकिएपछि अहिले अनुसन्धान भइरहेको छ’ उनले भने, ‘थप अनुसन्धानपछि अध्यक्ष लिम्बूले काठ कहाँ बिक्री गरे त्यो पनि खुल्नेछ ।’ लिम्बूले प्रतिक्यु.फिट २ हजारदेखि ३ हजारसम्ममा बिक्री गरेको स्रोत बताउँछ । अध्यक्ष लिम्बूले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन वन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । त्यसपछि डिभिजन वन कार्यालयको आदेशमा सव–डिभिजन कानेपोखरीका वन अधिकृत अलाउद्दीन मियाँ नेतृत्वको समितिले छानविन गरेको थियो ।
छानबिनको क्रममा अध्यक्ष लिम्बूले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अनियमितता गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । तीन वर्षको कार्यकाल भए पनि लिम्बूले आफ्नो कार्यकालको म्याद सकिएको एक वर्षपछाडि मात्रै साधारणसभा गराएको उपभोक्ताहरूको भनाइ छ । चार वर्षमा ९ सय ८७ क्यु.फिट काठ बिक्री भएको देखिएको वन अधिकृत अलाउद्दीनले बताए । उनका अनुसार सखुवा (साल) ४ सय २७ क्यु.फिट, ३ सय क्यु.फिट बोटधयँरो र अन्य प्रजातिको २ सय ६० क्यु.फिट काठ बिक्री गरेका थिए । ‘गलत मनसायले काठ बिक्री गरेको र सामुदायिक वनको आर्थिक अनियमितता गरेको देखिन्छ । कार्यसमितिमा निर्णय नगराई काठ मनोमानी ढङ्गले बेचेको देखिन्छ’–अधिकृत अलाउद्दीनले भने ।
छानबिन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि अनुसन्धान अधिकृत तोकिएको छ । डिभिजन वन कार्यालयले सव–डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दीपेश मिश्रालाई अनुसन्धान अधिकृतको जिम्मेवारी मङ्गलबार दिएको हो । अनुसन्धानपछि मोरङ अदालतमा अभियोग लैजाने तयारीमा डिभिजन वन कार्यालय रहेको छ । ‘जिल्ला सरकारी वकिलको कार्यालयसँग राय लिने काम पनि भइरहेको छ’ डिभिजन वन कार्यालय मोरङका डिभिजन वन अधिकृत घिमिरेले भने, ‘अनुसन्धानपछि अभियोजन बनाएर सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा अभियोग लैजानेछौं ।’ अनियमितताको आरोप लागेका लिम्बूलाई डिभिजन वन कार्यालयले हाजिर जमनतमा राखेको छ । उनी विरुद्ध वन पैदावर अनियमितता गरेको कसूरमा अदालतमा अभियोग लैजाने तयारी गरिएको छ ।