धरान । नेपाल एसीसी अन्डर १६ इस्ट जोन कप क्रिकेटको च्याम्पियन भएको छ ।
मङ्गलबारको फाइनल खेलमा घरेलु टोली मलेसियालाई दुई सय २१ रनले हराउँदै च्याम्पियन बनेको हो । दुई सय ५३ रनको विशाल लक्ष्य लिएर मैदानमा उत्रिएको मलेसियाले १४ ओभर ५ बलमा ३१ रनमै अलआउट भयो । कप्तान अभिषेक तिवारी र सन्तोष यादव चम्किँदा नेपालले एसीसी अन्डर १६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको हो । तिवारीले ६ ओभरमा १ मेडन राख्दै ७ रन मात्रै खर्चेर छ विकेट लिए । त्यस्तै यादवले तीन ओभरमा २ मेडन राखेर ९ रन खर्चिंदै ३ विकेट लिएका थिए ।
मलेसियाका मुहम्मद अक्रमले १० रन जोड्दा अन्य कसैले पनि दोहोरो अङ्क बनाउन सकेनन् । मलेसियाका पाँच ब्याटर डक भएका थिए । ओपनर मुहम्मद अस्याकल गोल्डेन डक भएका थिए । नेपालका लागि नरेन भट्टले शतक पूरा गर्दै निर्धारित ३५ ओभरको खेलमा आठ विकेटको क्षतिमा २ सय ५२ रन बनाएका थिए ।
नेपालले यसअघि पनि एसीसी अन्डर १६ इन्सर्ट रिजन नामको प्रतियोगिता दुई पटक जितिसकेको छ । सन् २०१७ र २०१९ मा उपाधि जितेको नेपालले यो तेस्रो पटक उपाधि जितेको हो । नेपालले एसियाली क्रिकेट परिषद् (एसीसी) को अन्डर १६ मा ह्याट्रिक गर्न सफल भएको हो ।
खेलमा सागर गैरे र अशोक धामीले एक विकेट लिएका थिए । नेपालले समूह चरणमा पनि मलेसियालाई ८४ रनले पराजित गरेको थियो । समूह चरणमा थाइल्यान्ड र मलेसियालाई हराएको नेपालले सेमिफाइनलमा सिङ्गापुरलाई पराजित गर्दै फाइनल खेलेको हो ।