धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चले धरान वडा नं. १३ कार्य समिति पुनर्गठन गरेको छ ।

मञ्चका नगरअध्यक्ष मोहनप्रसाद तिगेलाको सभापतित्व र सुनसरी जिल्ला इन्चार्ज भूपेन्द्रसुन्दर लावतीको प्रमुख आतिथ्यमा भएको भेलाले अध्यक्षमा उमा राई सम्बाहाङ्फे, वरिष्ठ उपाध्यक्षमा पूर्णकुमारी थाम्देन, उपाध्यक्षमा विष्णु पङ्धाक, सचिवमा सुमित्रा खेवा लिम्बू र सह––सचिवमा प्रेम सम्बाहाङ्फेलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरूमा लक्ष्मी सिङ्घक लिम्बू, कालुमान लिम्बू, रनवीर हुक्पाचोङ्बाङ, धनमाया लिम्बू, समिला लिम्बू, कालीबहादुर माखिम र खड्ग श्रेङ लिम्बूलाई चयन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इञ्चार्ज लावतीले अहिलेसम्मको स्थानीय सरकारले महँगी, कालोबजारी नियन्त्रण गर्न नसकेको बताए । उनले बजारमा महँगी आकासिएकाले गरिब, अति विपन्न वर्गले दुई छाक टार्न मुस्किल भएको बताए । उनले यो अवस्थामा सुधार आउनु पर्ने बताए । त्यस्तै उनले धरान–इटहरी सडक–खण्डमा भएको ठेकेदारसँगको सम्झौता सकिँदा पनि सडक निर्माण सम्पन्न नभएको भन्दै ठेकेदारलाई कारबाही गर्नुपर्ने बताए ।

त्यस्तै मञ्चका सुनसरी अध्यक्ष राजकुमार लिम्बू ‘प्रिन्स’ ले अब सङ्गठनले भ्रष्टाचार, अनियमितता विरुद्ध लड्ने बताए । जिल्ला सचिव पवित्रा लिम्बू हुक्पाचोङ्बाङले कार्यक्रममा सम्बोधन गर्दै महिलाको हक अधिकार र देशमा रहेका अति विपन्न वर्गका महिलाहरूप्रति केन्द्रित हुनुपर्ने बताइन् । यसैगरी महिला जिल्ला अध्यक्ष सरस्वती सुब्बाले नेपालमा महिला हिंसा अत्यधिक बढेको बताउँदै यस विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरिन् ।

त्यस्तै सङ्घीय दलित मञ्चका केन्द्रीय अर्थ सचिव भोलामान बर्देवाले सरकारले दलित समुदायको अधिकारका लागि काम गर्न नसकेको बताए । कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य तीर्थ मादेम्बा, केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नं. १ का इन्चार्ज कुमार फेम्सुहाङ, सङ्घीय सदस्य पर्शुराम वाइबालगायतले सम्बोधन गरेको नगर सचिव छत्र लावतीले जानकारी दिए ।