विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित एक कवाडी गोदाममा बुधबार दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
काठमाडौँमा थप उपचारको लागि पठाइएका चार जना घाइते बिरामीमध्ये थप एक जनाको बिहीबार मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको हो ।
काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा एक जनाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । काठमाडौँमा मृत्यु हुनेमा विराटनगर–६ की सुनिता कामत रहेकी छन् । विराटनगर–६ का दुखा मण्डलले सञ्चालन गरेको कवाडी गोदाममा भएको आगलागीमा परी बुधबार विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र विराटनगर–६ कै ५५ वर्षीया सुशीला पासवानको मृत्यु भएको थियो ।
मण्डलको न्युरो अस्पतालमा र पासवानको घटनास्थलमै जलेर मृत्यु भएको हो । उक्त घटनामा परी अन्य ३ जना घाइते भएका छन् । उनीहरूको काठमाडौँमा उपचार भइरहेको छ ।
आगलागीबाट ४० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । गोदाममा रहेका कवाडीका सामानहरू आगोले जलेर ध्वस्त हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार गोदामनजिक रहेको नरेश राठी र महेश राठीको घरको कोठामा रहेका १० थान एसी, झ्यालका पल्लालगायत आगोले जल्दा १५ लाख बराबरको क्षति भएको जनाइएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले आगलागी हुँदा कवाडी गोदाम र छेउमा रहेका घरमा गरेर ४० लाख बराबरको क्षति भएको जानकारी दिए । उनका अनुसार घटनाका बारेमा प्रहरीले थप बुझ्दै छ ।
बुधबार दिउँसो २ः१५ बजेतिर सुरु भएको आगलागी विभिन्न ठाउँबाट आएका दमकल, स्थानीय र प्रहरीसमेतको सहयोगमा साँझ ५ बजेतिर मात्र पूर्णरूपले नियन्त्रणमा लिइएको थियो । आगलागीमा परेर २ जनाको मृत्यु भएको छ । एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।