विराटनगर । नेकपा (एमाले) विराटनगर महानगरका अध्यक्ष सागर थापालाई गरिएको कारबाही फिर्ता लिई काममा फर्किने वातावरण तयार गर्न माग गरेका छन् । 

एमाले पार्टी कार्यालयमा कारबाही पर्ने अध्यक्ष थापाले सोमबार पत्रकार सम्मेलन गरी कारबाही फुकुवा गर्न माग गरे । उनलाई मानगढ खानेपानीका अध्यक्षलाई समर्थन नगरेको भन्दै पार्टीका जिल्ला अध्यक्ष बाबुराम कार्कीले साधारण सदस्य नरहने गरी कारबाही गरिएको पत्र थमाएका थिए । अध्यक्ष कार्कीले यही जेठ ३१ गते मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनको विषयलाई लिएर स्पष्टीकरण सोधेका थिए । त्यसमा चित्त बुझ्दो जवाफ नआएको भन्दै उनले कारबाही गरेका थिए । 

थापाले पत्रकार सम्मेलनमा भने, ‘एमालेले अवसरहरूको समानुपातिक वितरण गर्नुपर्छ भन्ने मान्यता राख्छ, यो मान्यतालाई हेर्दा २६ वर्षदेखि मानगढ खानेपानी आयोजनामा एकै व्यक्ति निरन्तर अध्यक्ष भएका छन् । फेरि हुने प्रयत्नमा छन् । कहिले पार्टीको सहयोग लिँदै तथा कहिले मानगढको अध्यक्ष हुनकै लागि पनि पार्टी छोडेर अन्य पार्टीमा प्रवेश गरेर राम घिमिरे अध्यक्ष हुँदै आउनु भएको छ,

उनले थपे, ‘गएको केही वर्षयता उहाँले स्थानीय पार्टीको नेताको सल्लाह सुझावलाई अवहेलना गर्ने मात्रै गरिरहनु भएको थिएन, खानेपानीकै गुणस्तर कम भएको जनगुनासोलाई समेत बेवास्ता गर्दै आउनुभएको थियो ।’

उनले कारबाही गर्दा दर्ता चलानीसमेत नगरिएका पत्रहरू थमाइएको बताए । उनले शक्तिको दुरुपयोग गरी अध्यक्ष कार्कीले आफूलाई पूर्वाग्रह रूपमा कारबाही गरेको आरोप लगाए । एमाले महानगरका सहसचिव नवराज नेपालले मानगढ खानेपानीका अध्यक्ष घिमिरेले जग्गा खरिदमा घोटला गरेको र अहिलेसम्म लेखा समिति पनि नबनाएको आरोप लगाए । त्यसकारण पनि उनलाई सहयोग नगरिएको उनीहरूको धारणा थियो । 

थापा पक्षले एमाले मोरङ र विराटनगर महानगरको अधिवेशनलाई प्रभावित पार्न आफूहरूलाई कारबाही गरेको दाबी पनि गरे । उनले आफूलाई कारबाही गर्दा पार्टीको विधानको दफा ८० को ३ र ६ बमोजिम कारबाही गरेको पत्र बुझाएको भए पनि सो दफा यो विषयमा आकर्षित हुने आधार नभएको दाबी गरे ।