इटहरी । सुनसरीको इटहरीस्थित मुख्य चौकमा रहेको सेन्ट्रलप्लाजाबाट सञ्चालित होटल बरन्डामा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उदयपुर गाईघाट घर भएकी १९ वर्षीय किशोरीलाई बलात्कार गरी तपन भनिने तपेन्द्र थापा फरार भएका हुन् । घटना बुधबार राति घटेको इटहरी प्रहरीले जनाएको छ । पीडित किशोरीले बिहीबार दिउँसो इटहरी प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो । अमेरिकाबाट तीन महिनाअघि नेपाल घुम्न आएका तपन भनिने तपेन्द्र थापाले इटहरीको बरन्डा होटलमा एक किशोरी बलात्कार गरी फरार भएको उजुरीमा उल्लेख छ ।

पारिवारिक समस्यामा परेकी ती किशोरीलाई धरानबाट तरहरा हुँदै इटहरी ल्याएर मध्यराति बलात्कार गरी थापा फरार भएका हुन् । घटनापछि थापाले प्रयोग गरेको गाडीसमेत होटलमै छाडेर फरार भएको प्रहरीले जनाएको छ । गाईघाट घर भएकी ती किशोरी धरानमा डेरा लिएर बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत बुधबार राति धरानको एमएस क्लब अगाडि उभिएको देखेर सहयोग गर्ने भन्दै ती किशोरीलाई बरन्डा होटलमा ल्याई बलात्कार गरी युवक फरार भएको इटहरी प्रहरीले जनाएको छ ।

तपन भनिने तपेन्द्र थापाले मध्यरातमा इटहरीस्थित बरन्डा होटलको ८०१ नं. को रुम बुक गराएको देखिन्छ तर, रुमको फर्म रेकर्डमा भने श्रीजल पराजुली लेखिएको छ । अगाडि श्रीजल पराजुली लेखेर काटी पुनः तपन लेखिएको रेकर्ड बुकमा देख्न सकिन्छ ।

धरानबाट ४ जना किशोर र एक किशोरीसहित ५ जनाको समूह बागमती प्रदेश ०१–बा २८ च ६७५३ नं. को एमजी इलेक्ट्रोनिक्स गाडीमा उनीहरू इटहरी आएको देखिए पनि गाडीभित्र सवार ३ जना सोल्टी वेस्टन होटलअगाडि ओर्लिएको र बाँकी रहेका थापा र ती युवती मात्रै इटहरीको होटल बरन्डामा बसेको देखिन्छ । गाडीभित्र अन्य तीनजना को थिए भन्नेबारे प्रहरीले खुलाएको छैन ।

होटलको सिसी टिभी फुटेजमा पनि दुई जना सँगै आएको देखिएको छ । घटनामा प्रयोग भएको गाडी इटहरीस्थित प्रतिष्ठित व्यवसायी रोहित पराजुलीको रहेको अनुसन्धानबाट खुलेको छ । पराजुलीले इटहरी पश्चिम लाइनस्थित बुलेट बाइक शोरूम सञ्चालन गर्दै आएका छन् ।  

घटनापछि तपन भनिने तपेन्द्र थापाले गाडी बरन्डा होटलको मुनी छाडेर फरार भएका छन् । यता फरार भएका तपेन्द्रको नाममा जिल्ला अदालत सुनसरीबाट पनि पक्राउ पुर्जी जारी भइसकेकोले उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनामा संलग्न भएको गाडीलाई भने नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ । यता घटना दबाउन इटहरीमा ठूलै शक्ति परिचालन भएको उच्च स्रोतबाट बुझिएको छ । घटना भएको भोलिपल्ट इटहरी प्रहरीमा सम्पर्क गर्दा सूचना दिन आनाकानी गरिएको थियो ।

घटनामा प्रयोग भएको प्रदेश ०१–बा २८ च ६७५३ नं. को एमजी इलेक्ट्रोनिक्स गाडी प्रहरीले नियन्त्रणमा लिएको भनिए पनि प्रहरी कार्यालय परिसरमा उक्त सवारी साधन राखिएको छैन । उक्त सवारी साधन सेन्ट्रल प्लाजाकै अन्डरग्राउन्ड पार्किङमा राखिएको छ । उजुरी दर्ता गराएको यत्रो दिनसम्म पनि प्रहरीले घटनालाई गम्भीररूपमा नहेरेको पीडित पक्षको आरोप छ ।