धरान । सुनसरीको धरान उपमहानगरपालिका १४ नम्बर वडामा पेटसम्बन्धी स्वास्थ्य शिविर गरिएको छ । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सन्दीपराज बज्राचार्यको सहकार्यमा नेवाः पत्रकार राष्ट्रिय दवू सुनसरीको आयोजनामा शिविर सम्पन्न भएको हो । हरेक महिनाको पहिलो शनिबार पेटसम्बन्धी स्वास्थ्य जाँच गरिँदै आएको दवू सुनसरीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । 

पेटसम्बन्धी रोगलाई नियन्त्रण गर्नका लागि आहारमा ध्यान दिनुपर्ने डा. बज्राचार्यले बताए । उनले पेटसम्बन्धी समस्यालाई निराकरण गर्नका लागि तीन तीन महिनामा चेकजाँच आवश्यक रहेको बताए । उनले बेलैमा रोग पत्ता लगाउन सकेमा रोगको उपचार सजिलै गर्न सकिने बताए । 

कार्यक्रमका प्रमुख अतिथि धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले वार्डबासीहरुलाई विशेषज्ञ सेवा दिएकोमा डाक्टर तथा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरे । नेवार एकता समाजको महिला समिति धरानको सहकार्यमा भएको कार्यक्रममा एक सय २३ जनाले सेवा लिएका थिए । 

कार्यक्रममा म्यानस फर्माले बिरामीहरुलाई निःशुल्क औषधि उपलब्ध गराएको थियो भने बिर्तामोड डाइग्नोस्टिक सेन्टर एन्ड पोलिक्लिनिक धरानले उच्च रक्तचाप र मधुमेहको जाँच गरेको थियो । महिला एकता समाजकी धरान नगर अध्यक्ष विद्या शाक्यले सामाजिक उत्तरदायित्व पूरा गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको बताइन् । पूजा कर्मचार्यको संयोजकत्वमा शिविर सम्पन्न भएको थियो ।