विजयपुर/ प्रेमको नाटक गरी सम्पत्ति हडप्ने सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर–१६ का रामप्रसाद राई पक्राउ परेका छन् ।

बुधबार उनलाई इटहरी प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार ठगी गरेको आरोपमा राईलाई पक्राउ गरिएको हो। प्रवक्ता भण्डारीले भने, ‘ठगीमा अनुसन्धान भइरहेको छ ।’

राईले धरान वडा नम्बर –१५ एभरेष्ट लाइनकी हर्कमाया लिम्बूनीकी कान्छी छोरीलाई प्रेमको नाटक गरी करोडौं हडपेको आरोप छ। हर्कमायाको परिवारले जेठ २६ मा पत्रकार सम्मेलन गरी प्रेमको नाटक गरेर सम्पत्ति हडपेको बताएका थिए।

रामप्रसादले हर्कमायाकी छोरीसँग प्रेमसम्बन्ध बढाई मोरङको साविक दुलारी ४ (ख) कि.नं.७७९ को क्षेत्रफल ८ कठ्ठा २ धुर जग्गा २०७५ मङ्सिरमा रामप्रसादले जालसाजीमा रजिष्ट्रेशन पास गराएका थिए। हर्कमायाको नामबाट आफ्नो नाममा जग्गा पास गरेर उनले त्यही जग्गा बैङ्कमा धितो राखेर कर्जा निकालेको पाइएको छ।

हर्कमायाकी जेठी छोरी चन्द्रा लिम्बूका अनुसार आमा र बहिनीसँग भएको चल सम्पत्तिसमेत अपचलन गरी रामप्रसाद फरार भएका थिए। उनका अनुसार २०७३ सालमा राई घर निर्माण गर्नका लागि लिम्बूको घरमा पुगेका थिए। त्यही क्रममा बहिनीसँग राई नजिक भएर अरूलाई आफू सोही घरको ज्वाइँ भनेर चिनाउने गरेको दिदी चन्द्राले बताइन्।आमालाई समेत प्रभावमा पारेर उनले बहिनीसँग विवाह गर्ने भन्दै प्रेमसम्बन्ध बढाए । त्यसपछि जग्गा आफ्नो नाममा पार्न सफल भए ।

रामप्रसादको विभिन्न हर्कतका कारण मानसिक तनावमा परेर बहिनीलाई २०७६ असारमा प्यारालाइसिससम्म भएको चन्द्राले बताइन्। प्यारालाइसिस भएपछि रामप्रसादले उपचार गराउन हेलिकप्टरमार्फत् काठमाडौँ पनि लगेका थिए । ‘उपचार भइरहेको समयमा रामको मोबाइल हेर्दा अर्कै केटीसँग कुरा गरेको थाहा भयो’ चन्द्राले भनिन्, ‘हामीले बहिनी यस्तो अवस्थामा छ। तपाईं अरूसँग बोल्नुहुन्छ भनेर करायौँ पनि ।’

त्यसपछि रामप्रसाद टाढिँदै गएको उनले बताइन्। सम्पत्ति हडप्नका लागि बहिनीको जीवनमाथि खेलवाड गरेको चन्द्राको आरोप लगाएकी थिइन्। परिवारको व्यापक दबावपश्चात् उनले धरान–१८ को वडा कार्यालयमा जग्गा फिर्ता गर्ने सहमति गरेका छन् । सहमति पत्रमा २०८१ जेठ २१ गतेभित्र फिर्ता गरिसक्ने उल्लेख छ।

उक्त कागजी सहमतिमा रामप्रसादकी दिदीलगायत पाँचजना साक्षी बसेका थिए । जग्गा फिर्ता दिने तोकिएको मितिदेखि रामप्रसाद फोन स्वीचअफ गरी फरार रहेका थिए।