विजयपुर/माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धरानका केही विद्यालयको नतिजा शून्य देखिएको छ भने केही विद्यालयले नतिजा हेर्न नभ्याएको बताएका छन्।

धरान–१० स्थित पञ्चायत मा.वि.ले नतिजा नै हेर्न भ्याएको छैन। विद्यालयका प्रधानाध्यापक उत्तम श्रेष्ठका अनुसार पञ्चायतबाट १७ जनाले परीक्षा दिएका थिए। तर, विद्यालयले बिहीबार बेलुकासम्म नतिजा हेर्न भ्याएको छैन । उनले भने, ‘इन्टरनेट खुल्दै खुलेन।’ इन्टरनेट सर्भर नखुलेकाले नतिजा हेर्न नभ्याएको प्रधानाध्यापक श्रेष्ठले बताए । तर, अन्य धेरै विद्यालयले भने नतिजा हेरिसकेका छन्।

यस्तै धरान–१९ स्थित किरातेश्वर मा.वि.को नतिजा शून्य आएको बुझिएको छ । विद्यालयका प्रधानाध्यापक डा. योगेन्द्र पालुङ्वाका अनुसार कुल २१ जना विद्यार्थीले परीक्षा दिएका थिए । उनले भने, ‘सबै ग्रेड वृद्धिमा परे भन्ने सुन्दैछु ।’ कक्षा  ११ मा कसैले पनि भर्ना पाउने भएनन् त भन्ने ब्लाष्टकर्मीको जिज्ञासामा प्रधानाध्यापक डा.श्रेष्ठले भने, ‘नतिजा हेर्न सकिएन।’

धरान–११ को ज्ञानोदय मा.वि.बाट ८० जना विद्यार्थीले परीक्षा दिएकोमा १० जना उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक देवकुमार श्रेष्ठले बताए। उनका अनुसार ३५ जना विद्यार्थीले पुनः परीक्षा दिन पाउने भएका छन् । प्रधानाध्यापक श्रेष्ठले भने, ‘विगतको वर्षभन्दा नतिजा खस्कियो समीक्षा गर्दैछौँ ।’

धरान–१६ को चन्द्र संस्कृत मा.वि.का प्रधानाध्यापक ताराकुमार राईका अनुसार १४ जनाले परीक्षा दिएकोमा ४ जनाले उत्तीर्ण गरेका छन्। विद्यार्थीले ३ जिपिएसम्म ल्याएका छन्। १० जना विद्यार्थीले पुनः परीक्षामा सहभागी हुन पाउने भएका छन्।

भानुस्मृति मा.वि.का प्रधानाध्यापक रविन सुवेदीका अनुसार २० जनाले परीक्षा दिएकोमा ७ जना उत्तीर्ण भएका छन् । विद्यार्थीले ३.३ सम्म जिपिए ल्याएका छन् । ९ जनाले पूरक परीक्षा दिन पाउने प्रधानाध्यापक सुवेदीले बताएका छन्। सहिद स्मृति मा.वि.का सूचना अधिकारी राजन वनका अनुसार विद्यालयबाट ३१ जना विद्यार्थीले परीक्षा दिएकोमा १३ जना उत्तीर्ण भएका छन् । उनका अनुसार विद्यार्थीले २.७ देखि ३.३३ जिपिए ल्याई उत्तीर्ण भएका छन्।

विद्यालयका १९ जनाले पूरक परीक्षा दिन पाउने भएका छन्। शारदा बालिका नमुना मा.वि.का प्रधानाध्यापक धर्मनारायण सिंहका अनुसार ५२ जना विद्यार्थीले परीक्षा दिएकोमा १५ जना उत्तीर्ण भएका छन्। सबैभन्दा बढी जिपिए ३.५ ल्याएका छन् । २० जना विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।

धरान–२० को भालढुङ्गा मा.वि.का प्रधानाध्यापक सुरेन्द्र अधिकारीका अनुसार ३५ जना विद्यार्थीले परीक्षा दिएकोमा २० जना उत्तीर्ण भएका छन्। सबैभन्दा ३.३ जिपिए प्राप्त गरेका छन्। १३ जना विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउनेछन् ।  धरान–१७ को ज्वालामुखी मा.वि.बाट ३६ जनामा २७ जना उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक गोपाल थापाले बताए ।

धरानको शिक्षा निकेतन मा.वि.बाट ७४ जनाले परीक्षा दिएकोमा ११ जना उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक उमेश गुरागाईंले बताए । उनका अनुसार सबैभन्दा बढी जिपिए ३.४७ ल्याएका छन्। २८ जनाले पूरक परीक्षा दिन पाउने भएका छन् । धरान–१७ को पञ्चकन्या मा.वि.बाट ६३ जनाले परीक्षा दिएकोमा ४२ जना उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक खेम सुवेदीले बताए । १९ जनाले पूरक परीक्षामा दिन पाउनेछन् भने २ जनाले परीक्षा दिन पाउँदैनन् ।

धरान–१५ को शिक्षा सदन मा.वि.का प्रधानाध्यापक अम्बर बस्नेतले १ सय २७ जना विद्यार्थीले परीक्षा दिएको बताए । तर, कति विद्यार्थी उत्तीर्ण भएको स्पष्ट पारेनन्। उनले विस्तृत रुपमा नतिजा हेर्न बाँकी रहेको बताए । धरान–६ स्थित सरस्वती मा.वि.बाट ९९ जनाले परीक्षा दिएकोमा ६९ जना उत्तीर्ण भएको प्रधानाध्यापक गङ्गा धमलाले बताए । सबैभन्दा बढी ३.६५ जिपिए आएको छ। २७ जनाले पूरक परीक्षा दिन पाउनेछन्। प्रधानाध्यापक धमलाले भने, ‘ग्रामीण क्षेत्रको विद्यालय भएकाले नतिजा राम्रो मान्नुपर्छ ।’

धरान–१२ स्थित पब्लिक हाइ स्कुलबाट १ सय ९३ जना परीक्षामा सहभागी भएकोमा १ सय ५७ जना उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले बताए । उनका अनुसार सबैभन्दा बढी ३.८७ जिपिए ल्याएका छन् । १८ जना विद्यार्थीले ए प्लस ल्याएका छन् । ३.२ देखि ३.६ जिपिए ल्याउने ६७ जना रहेका छन् । २.८ देखि ३.२ जिपिए ल्याउने ५० जना रहेका छन् । २.४ देखि २.८ जिपिए ल्याउने २२ जना विद्यार्थी छन् । ३४ जनाले पूरक परीक्षा दिन पाउनेछन् ।

प्रधानाध्याक झाले भने, ‘केन्द्रको अवस्था हेर्दा नतिजालाई ठीकै मान्नुपर्छ।’ पब्लिक हाइ स्कुलकी आकृति बराइलीले ३.८६ जिपिए ल्याउँदै छात्रातर्फ सुनसरी प्रथम भएको पनि प्रधानाध्यापक झाको दाबी छ। धरान–८ को ल्याबोरेटरी मा.वि., श्री मा.वि. घोपा, पब्लिक मा.वि. फुस्रेलगायतका केही विद्यालयका प्रधानाध्यापकले फोन उठाएनन् ।