धरान/धरानका अग्रज रङ्गकर्मी तथा नाटककार गोपाल देवानलाई नेपाल सङ्गीत तथा नाट्य एकेडमीद्वारा प्रदान गरिने राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ प्रदान गरिएको छ।

विगत ३ दशकदेखि मोफसलमा रहेर नेपाली नाट्य क्षेत्रमा उच्च योगदान पु¥याएबापत देवानलाई राष्ट्रपति कार्यालय शीतल निवासमा सम्पन्न एक समारोहमा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा देवानसहित नृत्य, नाटक, सङ्गीतलगायत विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई राष्ट्रिय पुरस्कारले सम्मानित गरिएको हो।

सम्मानित सबैलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले दोसल्ला ओढाउनुका साथै ताम्रपत्र प्रदान गरेका थिए । सम्मानित स्रष्टाहरूलाई एक लाख एक रुपैयाँको चेक पनि प्रदान गरिएको थियो । देवानसँगै राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मानित हुने स्रष्टा तथा कलाकारहरूमा रङ्गमञ्चतर्फ वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा, शास्त्रीय सङ्गीततर्फ चन्दनकुमार श्रेष्ठ, लोकसङ्गीततर्फ बोमबहादुर कार्की, गायनतर्फ वरिष्ठ गायिका तारा थापा, नृत्यतर्फ जोगेन्द्र केसी रहेका छन्।

समारोहका विशेष अतिथि तथा सङ्गीत तथा नाट्य एकेडेमीका संरक्षक संस्कृति मन्त्री हितमान तामाङले कला, सङ्गीत र संस्कृति देशको पहिचान भएकोले राज्यले संरक्षण गर्ने नीति लिएको बताए । एकेडेमीका कुलपति निशा शर्मा पोखरेलले सङ्घीय गणतन्त्रको उदयपछि स्थापित सङ्गीत तथा नाट्य एकेडेमीले देशका स्रष्टाहरूलाई समुचित सम्मान तथा पुरस्कृत गर्ने परम्पराको थालनी गरेको बताउँदै हालसम्म ५४ जना स्रष्टाहरूलाई राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मान गरिसकेको जानकारी दिइन्।`