धरान । रोटरी क्लब अफ धरानले धरान १५ खोरियाबस्तीस्थित श्री जनता आधारभूत विद्यालयलाई खेल सामग्री सहयोग गरेको छ ।

क्लबका प्रचार प्रसार प्रमुख रोहितमान सिंह बस्नेतका अनुसार विद्यालयलाई एक थान चिप्लेटी, गो राउन्ड, पिङ, चाकाचुलीलगायतका खेल सामग्री वितरण गरिएको छ । यो सामुदायिक विद्यालय हो । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा रहेका बालबालिकालाई लक्षित गर्दै खेल सामग्री दिइएको उनले जानकारी दिए ।

गत फागुन ७ गते रोटरी क्लबले आयोजना गरेको साइकल रेस प्रतियोगिताबाट संकलित रकममध्येबाट खेल सामग्री दिइएको क्लबका संयोजक विनयलाल श्रेष्ठले जानकारी दिए । क्लबले आगामी वर्षमा पनि साइकल रेस गरिने जनाएको छ । 

क्लबका अध्यक्ष शिवानन्द साहले आगामी वर्ष गरिने साइकल रेसबाट संकलित रकमबाट अन्य आधारभूत विद्यालयलाई खेल सामग्री दिने बताए । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले खेल सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार राईलाई हस्तान्तरण गरे ।