धरान/‘संविधान संसोधन’लगायतका विषयलाई केन्द्रमा राखेर नेपाली काङ्ग्रेस र नेकपा (एमाले)बीच सत्ता समीकरण गर्ने सहमति सोमबार मध्यरातमा गरेका छन् । एमाले निकटका उद्यमी रामबहादुर थापाको काठमाडौँ चपलीहाइटस्थित निज निवासमा सहमति गरेका हुन् । 

यसको छनक भने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबारै दिएका थिए । उनले आफ्ना मन्त्रीहरूलाई उपत्यका छाडेर नजानका लागि निर्देशन गरेका थिए । त्यहीबीचमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटलाई पनि बाक्लो बनाएका थिए । 

दुई दलका सभापतिबीचको भेटले केही नयाँ सङ्केत गरिरहेको थियो । सत्ता समीकरणमा नेकपा (माओवादी केन्द्र)लाई साथ दिएको एमालेले बीचैबाट सत्ता छाड्नुपर्ने अवस्था सिर्जना हुनमा दुई कारणहरू बताइएको थियो । जसमा पहिलो कारण धितो पत्र बोर्डको अध्यक्ष चयन र दोस्रो नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा प्रकाउ घटना । 

यी दुई कारण माओवादीसँगको सत्तागठबन्धन भत्काउने सहायक कारणहरू बनिदिए । अन्ततः सोमबार मध्यराति काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचमा सत्ता समीकरणका लागि सहमति बनेको छ । काठमाडौँबाट सञ्चालित विभिन्न अनलाइनहरूका अनुसार सहमतिअनुसार सबैभन्दा सुरुमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् भने बाँकी डेढ वर्ष काङ्ग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् । 

सहमतिअनुसार संविधान संसोधनका लागि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा आयोग बनाउने निर्णय भएको छ । जसमा प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, सङ्घमा पनि राष्ट्रियसभामा समानुपातिक व्यवस्था गर्ने प्रदेश प्रमुखलाई केन्द्रबाट तोक्ने, प्रदेशको सङ्ख्यामा पनि पुनरावलोकन गर्ने, राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनेसहितका विषयमा सहमति खोज्ने प्रयास भइरहेको बाह्रखरीले लेखेको छ । 

घटनाक्रमहरू विकास हुँदै जाँदा ओलीको निर्देशन आफ्ना मन्त्रीहरूलाई उपत्यका छाडेर नजानू भन्ने मात्रै थिएन । उनले आफ्नो निजी निवास ‘बालकोट आउन’ पनि निर्देशन दिएका थिए । उक्त निर्देशनबाटै पनि नयाँ सत्ता समीकरण हुने सम्भावना रहेको अनुमान गर्न सकिन्थ्यो । असार १५ गते काङ्ग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सघन छलफल भएको थियो । तर उक्त छलफलका विषयमा समाचारहरू प्रकाशित भए पनि के विषयमा छलफल भएको थियो भन्ने आएको थिएन । 

त्यसो त नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले एक वर्षअगाडिदेखि नै सत्ता समीकरण दुई ठूला दलहरूले गर्नुपर्ने भनी सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । उक्त अभिव्यक्ति अन्ततः साकार भएको छ । सत्तागठबन्धनमा रहेको एमालेका मन्त्रीहरूले आज (मङ्गलबार) राजीनामा दिनका लागि निर्देशन भइसकेको छ । यस्तो अवस्थामा सत्तालाई हाँकिरहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा पर्नेछन् । जसले गर्दा उनीसँग दुईवटा विकल्पहरू रहनेछन् । 

पहिलो, राजीनामा दिई मार्गप्रशस्त गर्नु, दोस्रो संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनु । यीमध्ये काङ्ग्रेस र एमालेलाई भने राजीनामा दिएर मार्गप्रशस्त गर्छन् भन्नेमा विश्वास रहेको छ । अर्थमन्त्री वर्षमान पुनःले पनि केही अनलाइनहरूलाई पार्टी एक खालको निर्णयमा पुग्ने भनी बताइसकेका छन् । यसबीचमा एमालेले द्वैध चरित्र देखाइरहेको थियो । सत्तागठबन्धन दलहरूलाई विश्वस्त पार्ने र काङ्ग्रेस सभापतिसँग पनि बाक्लो भेटघाट गर्ने काम भइरहेको थियो । 

सरकारमा रहेका एमालेका ८ जना मन्त्रीले राजीनामा दिए लत्तगै सरकार अल्पमतमा पर्नेछ । हालको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस हो भने दोस्रो ठूलो दल एमाले हो । प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोटो छोटो समयमा सरकारमा दलहरू फेरबदल गर्ने चरित्र देखाएका कारण पनि एमाले रुष्ट रहेको दाबी गरिन्छ । 

नयाँ समीकरण हुँदा नेपालको संविधानको धारा ७६ (२) अनुसार नै निर्माण हुनुपर्नेमा एमालेको अडान छ । यसैकारण पनि एमालेले राष्ट्रपति रामचन्द्र पौडेलबाट सो धाराअनुसार नै सरकार गठन गराउनुपर्नेमा विश्वस्त हुन चाहेको थियो । सहमतिपश्चात् नै राष्ट्रपति पौडेललाई भेट्न एमाले आतुर रहेको थियो । नयाँ सरकार बनाउने सहमतिमा हस्ताक्षर गर्नुअघि एमाले राष्ट्रपति पौडेलले अर्को सरकारको आह्वान संविधानको धारा ७६ (२) अनुसारै गर्ने आश्वस्त हुन चाहेको सेतोपाटीले उल्लेख गरेको छ । 

यसबीचमा बारम्बार एमाले अध्यक्ष ओलीले ‘देश यथास्थितिमा चल्दैन’ भनी टिप्पणी गर्दै आएका थिए । यस्ता टिप्पणीले पनि सरकारबाट उनी असन्तुष्ट थिए भन्ने सङ्केतहरू आउने गरेको थियो । तर पछिल्ला दिनमा भएको राजनीतिक घटनाक्रम र विकासले सरकार परिवर्तन हुँदैछ भन्ने सङ्केत गरेको थियो । यहीबीचमा आफ्ना मन्त्रीहरूलाई ‘बालकोट आउनू’ भन्ने निर्देशनको ओली* सचिवालयले खण्डन गरेको थियो । तर यथार्थमा भने उक्त खण्डनको तात्त्विक अर्थ नरहेको आज आएर पुष्टि भएको छ । 

*यसअघि एमाले भनी उल्लेख गरिएकोमा क्षमाप्रार्थी छौँ-सं.