विजयपुर । सुनसरीको धरान–६ स्थित सरस्वती मा.वि.बाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई वडाध्यक्षले नगद पुरस्कार प्रदान गरेका छन् ।
बुधबार विद्यालयले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा ३.७९ जीपीए ल्याएका प्रतापसिंह लिम्बू र ३.६५ जीपीए ल्याएकी सजिना गुरुङलाई वडाध्यक्ष भूपेन्द्र भट्टराईले नगद प्रदान गरेका हुन् । वडाध्यक्ष भट्टराईले जनही दुई हजार रुपैयाँ दिए ।
वडाध्यक्ष भट्टराईले स्कुललाई बस आवश्यक रहेकाले कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतलाई पहल गर्न अनुरोध गर्दै भने, ‘सफारीमा विद्यार्थी बोक्नुपरेको छ ।’ विद्यालयका प्रधानाध्यापक गङ्गा धमलाका अनुसार विद्यालयबाट ९९ जना विद्यार्थीले एसईई दिएकोमा ६९ जना उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयहरूमध्ये नगरभित्र सरस्वती मा.वि. दोस्रो भएको छ ।
उनका अनुसार ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै विद्यार्थी के ? कहाँ ? अध्ययन गर्ने भन्ने विषयमा अन्यौल हुने गरेको बताए । उनले भने, ‘कुनै पनि विषय ठूलो, सानो, राम्रो, नराम्रो हुँदैन । सबै विषय समान छन् । क्षमता र इच्छाअनुसार अध्ययन गर्नुपर्छ र दक्ष हुनुपर्छ ।’ शिक्षक अभिभावक सङ्घकी अध्यक्ष टोलकुमारी लुइँटेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।