प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर हुँदैन। हामीले सफलताको सङ्केत चालु आर्थिक वर्षमा दिनुपर्छ। अर्काे आर्थिक वर्षमा अझ धेरै काम गर्नुपर्छ । यो सरकार ‘एक्सन ओरिएन्टेड’ हो।
देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो। यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन। बिना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।”
यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नु एकदिन अघि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुहुने बताए। “त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन।
कर्मचारी ढुक्कले काम गर्नुस्, त्यसको जिम्मेवारी सरकारले लिनेछ,” प्रधानमन्त्री ओलीले भने। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबमोजिम जनतामा प्रभावकारी सेवा प्रवाह गर्न, भोकमरी, र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध ढङ्गले काम गर्न निर्देशन दिए।

































