धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले कानूनविपरीत वडाध्यक्षलाई कार्यवाहक नगर प्रमुख तोकेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहका प्रमुख सात दिनभन्दा बढी अनुपस्थित हुनुपर्ने भएमा उपप्रमुखलाई कार्यवाहक प्रमुख तोक्नुपर्ने र उपप्रमुख पनि अनुपस्थित भएको अवस्थामा मात्र कार्यपालिका सदस्यलाई कार्यवाहक तोक्नु पर्ने व्यवस्था रहे पनि नगर प्रमुख साम्पाङले आफू परिवारसहित बेलायत यात्रामा जाने क्रममा गत असोज २३ गते धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई सर्तसहित कार्यवाहक प्रमुखको जिम्मेवारी सुम्पिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ (क) को १२ मा सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने उल्लेख छ । त्यस्तै उपदफा ४ (ख) को (२) मा उपप्रमुखले प्रमुखको अनुपस्थितिमा कार्यभार सम्हाल्ने व्यवस्था छ । यो कानूनी व्यवस्थाअनुसार उपप्रमुख उपस्थित रहेको अवस्थामा उनैलाई कार्यवाहक दिनुपर्ने भए पनि प्रमुख साम्पाङले कानूनविपरीत वडाध्यक्षलाई कार्यवाहक तोकेपछि उनी विवादमा तानिएका हुन् । उपप्रमुख अइन्द्रविक्रम बेघाले मङ्गलबार पत्रकार सम्मेलन गरेर कार्यवाहक प्रमुख आफू भएको दाबी गरेका छन् । उनले नगर प्रमुखको कानूनविपरीतको कार्यविरुद्ध आफू अदालत जाने बताएका छन् ।

वडाध्यक्ष फागोलाई कार्यवाहक तोकिएको पत्रमा दिनमा पाँच हजारभन्दा बढी आर्थिक सहयोग गर्न नपाउने, कार्यपालिका बैठक बोलाउन नपाउने, तोडफोड भएको उपमहानगरपालिकाको गेट मर्मत गर्न नपाउने, कुनै बजेटका योजना स्वीकृत गर्न नपाउने, करार तथा ज्यालादारी कर्मचारी थप्न नपाउने सर्त राखिएको छ । नगर प्रमुखको कार्यकक्षमा ताला लगाएर बाहिर स्वकीय सचिव बस्ने ठाउँमा कार्यवाहक प्रमुखलाई राखिएको छ । वडाध्यक्ष फागो भने आफूलाई बाहिरै बस्न सहज भएको बताउँछन् ।

अत्यन्तै नीच कार्यः ६ दल
नगर प्रमुख साम्पाङले कानूनविपरीत काम गरेको भन्दै धरानका ६ वटा दलले विरोध जनाएका छन् । उनीहरूले बुधबार विज्ञप्ति जारी गर्दै उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने कार्यलाई ‘अत्यन्तै नीच कार्य’ भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा नगर प्रमुखको कामले धरानवासीको शिर निहु¥याएको भन्दै नगर प्रमुखको तहबाट यस्ता गैरकानूनी र अराजक गतिविधिहरू नगर्न सचेत गराइएको छ । विज्ञप्तिमा नेपाली काङ्ग्रेसका नेताको भने हस्ताक्षर छैन । काङ्ग्रेसजस्तो प्रजातान्त्रिक मूल्य मान्यता मान्ने पार्टीका वडाध्यक्षले कानूनविपरीत सर्तसहितको कार्यवाहक लिनु आश्चर्यजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेपाली काङ्ग्रेसबाहेकका ६ दलका अध्यक्षहरू एमालेका हर्कजङ एभेङ, माओवादीका सूर्यबहादुर भट्टराई (मनोज), जसपाका ताजुव लिम्बू, नेकपा (एकीकृत समाजवादी)का रेवतीरमण राई, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति राम कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक नरेश शाक्यको हस्ताक्षर छ ।

वडाध्यक्षलाई कार्यवाहक गैरकानूनी: निवर्तमान प्रमुख
धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तिलक राईले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक तोक्नु गैरकानूनी भएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले स्थानीय सरकार सञ्चालन ऐन, धरान उपमहानगरपालिकाको नगर कार्यपालिका कार्य विभाजन नियमावलीले समेत प्रमुखको अनुपस्थितिमा उपप्रमुखलाई कार्यवाहक तोक्ने स्पष्ट व्यवस्था भएको बताए । उनले उपप्रमुखसमेत नभएको अवस्थामा मात्र कार्यपालिका सदस्यलाई कार्यवाहक दिन मिल्ने उल्लेख गर्दै आफ्नो कार्यकालमा पनि आफू र उपप्रमुख दुवै अनुपस्थित रहेका बेला मात्र वडाध्यक्षलाई कार्यवाहक तोकिएको बताए ।

उनले आफूले निवर्तमान नगर प्रमुखको हैसियतले कानूनमा भएको व्यवस्था र विगतमा भएको अभ्यासलाई आधार मान्दा पनि नगर प्रमुख साम्पाङले दिएको कार्यवाहक गैरकानूनी रहेको बताए । उनले भने, ‘सबैले कानूनको पालना गर्नुपर्छ, कानूनविपरीत काम गर्ने छुट नगर प्रमुखलाई हुँदैन ।’