विराटनगर । बुधबार मात्रै राजीनामा बुझाएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीसँगै जापान पुगेका तीन जनाले जनही १० लाख रुपैयाँ बुझाएको प्रहरीलाई बयानको क्रममा बताएका छन् ।

नक्कली कागजात बनाएर जापान छिर्ने प्रयासमा रहेको बेला टोकियो विमानस्थलबाट डिपोर्ट भएका खोटाङका ३६ वर्षीय दावा शेर्पा र जनक राई तथा रसुवाका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बयान दिएका हुन् । नक्कली कागजात बनाएर जापान प्रवेश गर्न खोजेको पाइएपछि कात्तिक १४ गते मन्त्री अधिकारीसहित पाँच जनालाई जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । काठमाडौँ विमानस्थलमा ओर्लिएपछि तीन जनालाई प्रहरीले पक्राउ गरेको भए पनि नवलपरासीकी अनिता तिम्सिना र मन्त्री अधिकारीलाई त्यसै छाडेको छ । उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत कीर्तेसम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

‘जापानमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी भएर उतै बस्ने सर्तमा प्रतिव्यक्ति १० लाख बुझाएका थियौँ’ प्रारम्भिक बयानको क्रममा अनुसन्धान संलग्न अधिकृतलाई भनेको बयान उद्धृ्रत गर्दै एक प्रहरी अधिकृतले भने, ‘प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले जापान जानको लागि बुझाएको भनेका छन् ।’ अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार उनीहरूले प्रारम्भिक बयानमा जापानमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी भएर उतै बस्ने सर्तमा प्रतिव्यक्ति १० लाख बुझाएको बयान दिए । धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डेलाई १० लाख र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनारलाई २० लाख नगद बुझाएको उनीहरूले प्रहरीलाई बताए । मानव तस्करी गिरोहमा आबद्ध पाण्डे र सुनारसहित नुवाकोटका जुगल रिजाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुख तीर्थराज भट्टराईले मन्त्री अधिकारीसहित पाँच जनालाई जापानले डिपोर्ट गरेको पुष्टि गरेका छन् । ‘एउटै विमानबाट पुगेका उनीहरूको कागजात शङ्कास्पद लागेपछि जापानले पाँच जनालाई नै डिपोर्ट गरेको हो’ उनले भने, ‘तीन जनाको नक्कली कागजात फेला परेपछि तत्काल प्रहरीको जिम्मा लगाएको भए पनि मन्त्री अधिकारी र तिम्सिनालाई तत्कालको लागि छाडिएको हो ।’ अध्यागमनले छाडेको भए पनि उनीहरूको कल डिटेल तथा काजगातको बारेमा प्रहरीले अनुसन्धान गर्ने उनको भनाइ छ ।

मन्त्री अधिकारीसँगै जापानबाट डिपोर्ट भएका शेर्पाले खोटाङस्थित ऐँसेलुखर्क गाउँपालिका वडानम्बर २ को वडासदस्यको परिचय–पत्र, देवकोटा र राईले कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयको ‘सहायक’ को नक्कली परिचय–पत्र बनाएको भेटिएको छ । जापान पठाउने ‘गिरोह’ ले नै फर्जी कागजात बनाएर उनीहरूलाई दिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले जानकारी दिएका छन् । अहिलेसम्मको अनुसन्धानबाट महेश पाण्डेले फर्जी कागजात बनाएको खुलेको छ । कागजात तयार गर्ने र जापानमा लगेर छाड्ने योजनामा मन्त्रीको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गिरोहमा संलग्न २ जना फरार रहेकोले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

फरार दुई जनालाई पक्राउ गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले पूर्वमन्त्री अधिकारीलाई अनुसन्धानको दायरामा ल्याएको छैन । गिरोहका सदस्यले जापान हिँडेका तीन जनाको मोबाइलमा मन्त्रीको फोटो पठाएर ‘उहाँसँगै टोकियोमा आयोजित सांस्कृतिक कार्यक्रममा जानू’ भनेर म्यासेज गरेको भेटिएको छ । मानव तस्करीमा मुछिएपछि मन्त्रीबाट बुधबार राजीनामा दिएका अधिकारीले भने मानव तस्करको गिरोहले आफूलाई प्रयोग गर्न खोजेको दाबी गरेका छन् । ‘मानव तस्करले प्रयोग गर्न खोजेका रहेछन्  । थाहा पाएपछि विमानस्थलबाटै फर्किएँ’–उनले राजीनामापछिको पत्रकार सम्मेलनमा भनेका छन्  ।

को हुन् मन्त्री अधिकारीलाई जापान लैजाने गौतम ?
मोरङको रतुवामाई नगरपालिका–९ घर भएका एमाले कार्यकर्ता गोपाल भनिने योगराज गौतमले टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीलाई प्रबन्ध मिलाइदिएको खुलेको छ । उनी काठमाडौँमा बसेर सामान्य ठेक्कापट्टा र सिंहदरबारभित्र दलालीको काम गर्दै आएको स्रोत बताउँछ । चिनेजानेकै मान्छेले भनेपछि सबै कुरा ठीक होला भनेर जापान जान पासपोर्ट बुझाएको अधिकारीले स्वीकार गरेका छन् । भिसा र टिकटको काम उनैले गरिदिएको उनले बुधबारको पत्रकार सम्मेलनमा बताएका थिए । गौतमले महेश पाण्डेमार्फत् अधिकारीको जापान जाने प्रबन्ध मिलाइदिएको बुझिएको छ ।
अधिकारीसँग जापान उड्ने दिन त्रिभुवन विमानस्थलमा पाण्डेको पनि भेट भएको खुलेको छ । टोकियोमा हुने कार्यक्रमको नेपालर्फको आयोजक आफू भएको जानकारी पाण्डेले गराएको अधिकारीले पनि स्वीकार गरेका छन् । सामान्य खेती किसानी गरेर परिवारको गुजारा चलाउँदै आएको गौतम परिवारका सबै सदस्य काङ्ग्रेससँग नजिक छन् । तर परिवारमा गोपाल एक्लो एमाले निकट हुन् । तर उनी एमालेको कुनै पनि भ्रातृ सङ्गठन सदस्य रहेको पुष्टि छैन तर पनि उनको एमाले नेता र मन्त्रीसँग चिनजान बढी छ । त्यसमा पनि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमसँग उनको निकट सम्बन्ध रहेको एमालेका नेता कार्यकर्ता बताउँछन् । एमालेका एक नेताको भनाइअनुसार गौतम÷गौतम भएकै कारण राजेन्द्र गौतमसँग उनको घनिष्ट निकटता छ । देखिने खालको कुनै पेसा र रोजगारी नभएका उनी काठमाडौँको कोटेश्वरमा डेरा बसेर मन्त्रालय, जिल्ला प्रशासन, कर लगायतका सरकारी कार्यालयमा सर्वसाधारणले पाउने झन्झटमा सहजीकरण गरेर उनले जीवीकोपार्जन गर्दै आएको उनका छिमेकीहरू बताउँछन् ।

माओवादीद्वारा कारबाहीको माग

विराटनगर । कोशी प्रदेशको प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीको जापान भ्रमण प्रकरणमाथि गम्भीर छानबिनको माग गरेको छ । संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेकी हुन् ।

यो घटनाले प्रदेशबासीको शिर निहुरिएको उल्लेख गरेकी छन् । प्रदेश सरकारले राजधानीबाहिर मन्त्रीहरू जाँदा मुख्यमन्त्रीको अनुमति लिनुपर्नेगरी आचार–संहिता बनाएको उल्लेख गर्दै उनले विज्ञप्तिमा भनेकी छन्, ‘विदेश भ्रमणमा जाँदा त प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित सिफारिसको आधारमा सङ्घीय सरकारले सहमति दिनुपर्ने प्रावधान रहेको छ । त्यसविपरीत कूटनीतिक मर्यादाको उल्लङ्घन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमण जानु र मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिङ्गो प्रदेशबासीको शिर निहुरिएको छ ।’

उनले माओवादीले मन्त्रीलाई राजीनामा मात्रै गराएर उन्मुक्ति दिन खोजिएको भन्दै असन्तोष पनि प्रकट गरेकी छन् । जिम्मेवार मन्त्री सरकारी कार्यक्रमको नाममा सामान्य प्रक्रियासमेत पूरा नगरी विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री र प्रदेश सरकार कसरी बेखबर रहे ? मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरूको गिरोहमार्फत् सरकारी कागजात कीर्ते गरेका व्यक्तिहरू जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय हो ।

त्यसमाथि प्रदेशको मन्त्रीलाई जापान सरकारले विमानस्थलबाट डिपोर्ट गरेर फिर्ता गरेको लज्जास्पद घटनाबारे एक सातासम्म प्रदेश सरकार रमिते बन्नु खेदजनक छ भने यो प्रकरणमा राजीनामा गराएर उन्मुक्ति दिने प्रयास गरिएको आशङ्का बढेको उनले बताइन् । मन्त्रीसँगै गएका व्यक्तिहरूसँग मन्त्रालयकै कर्मचारीको नक्कली परिचय–पत्र हुनु, त्यही परिचय–पत्रको आधारमा एउटै कार्यक्रममा सहभागी हुन मन्त्री र ती व्यक्तिहरूको भिसासहित हवाई टिकटको प्रबन्ध हुनु रहस्यमय देखिएको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालबाट जापानमा सिधै उडान भए पनि हङ्कङ ट्रान्जिट भएको उडान प्रयोग गर्नुले यो प्रकरण गम्भीर लापरबाही मात्र नभएर उच्चपदस्थ व्यक्तिहरूको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करीको नयाँ प्रकरण त हैन भन्ने आशङ्का पैदा भएको छ’ –विज्ञप्तिमा भनिएको छ ।

यस विषयमा अनुसन्धान गर्न भन्दै माओवादी केन्द्रले सरकारको ध्यानाकर्षण गराएको छ । ‘संसदीय लोकतान्त्रिक अभ्यासमा विरलै हुने संसद्का प्रमुख ठूला दलबीचको गठबन्धन भएर सरकार बनेको छोटो अवधिमै एकपछि अर्को विवादित विषय बाहिर आइरहेका छन् । नेपाली काङ्ग्रेस र एमालेको गठबन्धन माफिया, भ्रष्ट, दलाल तथा गलत धन्दा चलाउने गिरोहको संरक्षणको लागि बनेको तथ्यलाई यो प्रकरणले थप उजागर गरेको छ । प्रदेश र देशकै स्वभिमान गिराउने यो प्रकरणसँग जोडिएको मानव तस्करी तथा सरकारी कागजात कीर्तेलगायतको विषयमा गम्भीर छानबिनको निम्ति सरकारको ध्यानाकर्षण गराउँछौं ।’