धरान । सामाजिक सञ्जालको व्यापकतासँगै ‘ट्रोल’ शब्दले पनि व्यापकता पाएको छ । सामाजिक सञ्जालमा यस्तै ट्रोलको शिकारमा परेका छन्, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई उर्फ हर्क साम्पाङ ।

बिहीबार धरान–१८ स्थित ग्रीन–टीमा मूलधारका पत्रकारद्वय जनकऋषि राई र गोपाल दाहालले लेखेको समाचारका विषयलाई लिएर गरेको ‘युट्युबे पत्रकार भेला’ मा ‘मलाई शुभयात्रा भन्नु पर्दैन’ भन्ने वाक्यांश अहिले ट्रोल बनिरहेको छ । यो सन्दर्भ चाहिँ नगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले नगर प्रमुख साम्पाङ बेलायत जाने क्रममा ‘शुभयात्रा’ नभनेकै रिसमा कार्यवाहकको जिम्मेवारी नदिएको भन्ने आशयमा व्यक्त अभिव्यक्ति अहिले सामाजिक सञ्जाल फेसबुक तथा एक्समा ट्रोल बनिरहेको हो । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता साथै अन्य सर्वसाधारणले पनि यसलाई ट्रोल बनाइरहेका छन् ।

कतिपय नेताले स–साना विषयमा पनि ‘शुभयात्रा’ भनी लेखेर नगर प्रमुखको व्यवहारप्रति व्यङ्ग्य गरेका छन् । धरानका जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बूले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘शुभयात्रा । ढिलो भए माफ पाऊँ । फरमान जारी भएपछि मात्र थाहा भो ठूलै गल्ती गरिएछ भनेर ।’ यस्तै नेकपा (एमाले) धरान उपमहानगरका अध्यक्ष हर्कजङ एभेङले शनिबार फेसबुकमा लेखेका छन्, ‘जो कोही यात्रा गर्दै हुनुहुन्छ भने शुभयात्रा है ।’ उनको स्टाटसमा २६ जनाले टिप्पणी गर्दै शुभयात्रा भनेर लेखेका छन् । धनकुटाका अग्रज पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीले व्यञ्जनात्मक अर्थमा लेखेका छन्, ‘धरानको भानुचोकमा आएपछि एउटा पात्रलाई सम्झिएँ ।’ उनको स्टाटसमा पनि अधिकांशले शुभयात्रा भनी कमेन्ट गरेका छन् ।

धरानका अग्रज पत्रकारमध्येका प्रदीप मेन्याङ्बोले पनि शनिबार घुमाउरो अर्थमा लेखेका छन्, ‘मैले नबुझेको नि । जङ्गे पिलरमा तस्बिर खिचेको सबैले शुभयात्रा मात्र भन्छन् । के पो हो ?’ उक्त स्टाटसमाथि घुमाउरो अर्थमै कमेन्ट गरिएको छ । जसमा धरानका समाजसेवी मेहरमान ह्युजले कमेन्ट गर्दै लेखेका छन्, ‘शुभयात्रा भन्नेहरू मात्र प्यारो रे नि त !’ कतिपयले पत्रकार सम्मेलन गरिएको विषयमा उक्त बोलेको कुरालाई मात्रै काटेर पनि सामाजिक सञ्जालमा ट्रोल बनाएका छन् ।

अहिले अधिकांशले फेसबुक तथा अन्य सामाजिक सञ्जालमा नगर प्रमुख साम्पाङले पत्रकार सम्मेलनमा अभिव्यक्त गरेको ‘शुभयात्रा भन्नु पर्दैन’ भन्ने वाक्यांशलाई यसरी ट्रोल बनाइरहेका छन् । नगर प्रमुख साम्पाङले धरानका पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि लेखेको एउटा समाचारका विषयलाई लिएर ‘नेपालमा बस्नलायक नबनाउने’ आशयको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि धरान–१८ को ग्रीन–टीमा भेट्न आउनू भनी उर्दी जारी गरेका थिए । भेट्न नआए ‘नेपाल बस्नलायक नबनाउने’ जस्ता अभिव्यक्ति दिएका थिए ।

जुन अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासङ्घको पहलमा पीडित पत्रकारद्वय जनकऋषि राई र गोपाल दाहालले संयुक्तरूपमा इलाका प्रहरी कार्यालयमा गालीबेइज्जती साथै शान्तिसुरक्षाको माग गर्दै निवेदन दिएका छन् । उक्त निवेदनका विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नगर प्रमुख साम्पाङको गतिविधिले धरानलाई लज्जित बनाएको भनी टिप्पणी गर्नेहरू पनि बढेका छन् । तर कतिपयले धरानका बौद्धिक व्यक्तित्वहरू नबोलेकोमा चिन्ता पनि व्यक्त गरेका छन् ।

नगर प्रमुख साम्पाङले प्रहरी तथा अदालतमाथि पनि आरोप लगाएका छन् । आफूलाई प्रहरी तथा अदालतले सहयोग नगरेको भन्दै भिडियोमार्फत् टिप्पणी गरेका थिए । खोज पत्रकारिता केन्द्रका लागि लेखिएको रिपोर्टमा उनलाई नक्कली माओवादीदेखि मेयरसम्म भनी दिइएको उपशीर्षकप्रति बढी आक्रोस पोखेको देखिन्छ । तर उक्त विषयमा उनले तात्कालीन समयमा माओवादीहरूले आफूलाई अनाहकमा कुटपिट गरेको भनी भिडियोमा नै स्वीकार गरेका छन् । ‘त्यो बेला जोसुकैलाई कुट्थ्यो । मलाई पनि कुट्यो’ भन्ने आशयको अभिव्यक्ति दिएका छन् ।