विजयपुर । धरान उपमहानगरपालिका–३ पुरानो बजारमा पारिवारिक विवादमा श्रीमतीको वीभत्स हत्या गरी श्रीमान् प्रहरी कार्यालयमा पुगेका छन् ।

जानुका ज्वेलर्सका सञ्चालक अमृत रसाइलीले श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालय धरानको गेटमा पुगेर भने, ‘मैले श्रीमती मारेर आएँ ।’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता रामप्रसाद तिमल्सिनाका अनुसार भोजपुर अरुण गाउँपालिका–६ जरायोटारका ३८ वर्षीय अमृत रसाइलीले २८ वर्षीया श्रीमती सम्झना रसाइलीको हत्या गरेका हुन् । उनीहरू शम्भु श्रेष्ठको घरमा भाडामा बस्ने गरेका थिए । अमृतका भान्जा इन्केश गजमेरका अनुसार उनीहरू सल्लाहले नै हिजो (शुक्रबार) डिभोर्स गर्नका लागि जिल्ला अदालत धनकुटा जाने तयारीमा थिए ।

भान्जा उनीहरूसँग बस्थे । डिभोर्समा जान विवाह दर्ताको प्रमाण–पत्र करिब एक घण्टासम्म खोजिरहेको भान्जा इन्केशले बताए । उनले भने, ‘डिभोर्सका लागि केही दिन अघिदेखि कुरा भइरहेको थियो । शुक्रबार डिभोर्स गर्न धनकुटा जान विवाह दर्ताको प्रमाण–पत्र खोज्दै हुनुहुन्थ्यो । म आधा घण्टासम्म बजार गएर आउँदा पनि खोजिरहनुभएको थियो । आएको एकछिनमा मामा–माइजूको कोठामा आवाज आएर जाँदा माइजूलाई ढलिहरेको देखेँ । मामा खुकुरी हान्दै थिए ।’

प्रहरीका अनुसार टाउकोसहित तीन स्थानमा गोहिरो चोट छ । इन्केशले खुकुरी खोसेर मामालाई आफू सुत्ने कोठामा थुनेर चिच्याउँदै बाहिर निस्किएका थिए ।  उनले भने, ‘मामाले घरबेटीलाई ढोका खोलिदिनु प्रहरीकोमा जान्छु भन्नुभएछ । ढोका खोलिदिएपछि अमृत प्रहरी कार्यालय गएका थिए ।’ इलाका प्रहरी कार्यालय धरान स्रोतले पनि अमृत श्रीमतीको हत्यापश्चात् प्रहरी कार्यालय आएको जनाएको छ । इलाका प्रहरी स्रोतले भन्यो, ‘गेटमा आएर म श्रीमती मारेर आएको भने । घटनाको पुष्टि गरेर गेटबाट नै नियन्त्रणमा लिइएको हो ।’ प्रहरीले पारिवारिक मतभेदका कारणले हत्या गरेको जनाएको छ ।

प्रहरी स्रोतले भन्यो, ‘घटना प्रकृति हेर्दा हत्या गर्ने मानसाय देखिँदैन । आवेशमा हत्या गरेको देखिन्छ ।’ भान्जा इन्केशका अनुसार हप्तादिनभित्र डिभोर्स गर्ने तयारी गरेका थिए । उनका अनुसार श्रीमती सम्झनाले नै डिभोर्स मागेकी थिइन् । उनले भने, ‘माइजूले डिभोर्स माग्नुभएको थियो । धन सम्पत्ति दिनु पर्दैन भन्नुभएको थियो ।’ उनले एकवर्षदेखि मात्र सम्झना धरान आएर श्रीमान् अमृतसँग बस्न थालेको जानकारी दिए । त्यसअघि सम्झना भोजपुरमा नै बस्दै आएकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार १५ वर्षको उमेरमै सम्झनाको विवाह भएको थियो । आफूभन्दा बढी उमेरको श्रीमान् भएका कारणले डिभोर्स मागेको हुनसक्ने पारिवारिक स्रोत बताउँछ । उनीहरूको ११ वर्षीय छोरा र ८ वर्षीया छोरी छन् । उनीहरू धनकुटाबाट बसाइँ सरी भोजपुर गएको भान्जा इन्केशले बताए ।