भद्रपुर । झापाको भद्रपुर सीमामा तैनाथ दुवै देशका सुरक्षाकर्मीले चेकजाँच गरी छाडेको भारतीय कारभित्रबाट लाखौँ मूल्य बराबरको सरसामान बरामद गरेको छ ।

नाकाबाट भन्सार छलेर स्पोर्टस् सुज र छालाको बेल्ट भित्राउने एउटा भारतीय नम्बर प्लेट भएको सुजुकी कारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा ६० जोर फुटबल सुज, ४० थान छालाको बेल्ट र लाइटर बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वाटर झापाले जनाएको छ ।

सशस्त्र प्रहरीले दिएको विवरण अनुसर शुक्रबार बिहान ८ बजेको समयमा डब्लुबी ५२ जी ९४१८ नम्बरको भारतीय सुजुकी कार भद्रपुर–५ स्थित मेची पुलबाट नेपाल प्रवेश गरेको थियो । कारलाई नाकामै रोकेर चेकजाँच गरिएको थियो । तर, कारभित्र केही नदेखिएपछि सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न अनुमति दिएका थिए ।

सो कारभित्र सरसामान ल्याएको भनी सशस्त्रलाई तत्कालै सूचना प्राप्त भयो । सशस्त्रले भद्रपुर भन्सार कार्यालय अगाडि सुजुकी कारलाई रोक्ने सङ्केत गर्दा नरोकी भाग्ने क्रममा कारलाई पछ्याउँदै भद्रपुर–८ स्थित हडिया चिया बगानमा कार छाडेर चालक फरार भएका थिए । त्यसपछि सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरले कारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा कारको ब्याक लाइटभित्र छुट्टै बनाइएको बक्सबाट स्पोर्टस् सुज, बेल्ट र लाइटर बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वाटर झापाका डीएसपी मदनकुमार रसाइलीले जानकारी दिए । सामान र कार कसको भनी नखुलेको उनले जनाए ।

चालक फरार भएकोले अनुसन्धान भइरहेको डीएसपी रसाइलीले बताए । नियन्त्रणमा लिएको कारसहित सामानलाई ११ लाख ७१ हजार १ सय रुपैयाँ मूल्याङ्कन तोकेर आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको डीएसपी रसाइलीले बताए ।

यो भन्दा अघि गत भदौ २३ गते मेचीनगरको काँकडभिट्टा नाकाबाट प्रवेश गरेको डब्लुबी ७४ एन ६८७८, डब्लुबी ७४ पी ७७९९ र डब्लुबी ७४ एन ८५६२ नम्बरको भारतीय कार चालकहरुलाई अवैध सामानसहित नियन्त्रणमा लिएको थियो । तीन वटै कारले ब्याक लाइट हुने ठाउँमा बक्स बनाएर त्यहाँभित्र लत्ताकपडा राखी भन्सार छलेर नेपाल भित्राउने खोजेका थिए ।

कारहरू भित्र लुकाइछिपाई ल्याएको अन्दाजी ३ लाख ९९ हजार एक सय रुपैयाँ बराबरको पुरुष ट्राउजर ११० पिस, लेडिज ट्राउजर ४२ पिस, रुमाल १२५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस , लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस फेला परेको थियो ।

सामानसहित अन्दाजी २४ लाख बराबरको तीन वटा कार र त्यसका चालकहरू भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला पानीट्याङकी बस्ने ४२ वर्षीय रामदयाल बर्मन, सोही ठाउँका ३३ वर्षीय अमित राय र ४६ वर्षीय राजकुमार घोषलाई नियन्त्रणमा लिएर मेची भन्सार बुझाएका थिए ।

काँकडभिट्टामा सो घटना बाहिरिएपछि त्यहाँका तस्कर समूहले भद्रपुर नाकामा सरसामान भित्राउँदै आइरहेका छन् । दुवै तहका सुरक्षा निकाय २४ सै घण्टा चेकजाँचमा खटिएपनि तस्करसँग सेटिङ् मिलाएर सरसामान वारीपारीमा सहयोग गर्दैै आइरहेको विभिन्न घट्नाक्रमले पुष्टि गरिसकेको छ ।