विराटनगर । जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेकी सङ्घीय संसदको सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जना विरुद्ध ३५ दिने अदालती पक्राउ पुर्जी जारी भएको छ ।
मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहित २५ जना विरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि सम्बन्धित अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय रङ्गेलीलाई पत्र सोमबार पठाएको उनले बताए । ‘सहकारी ठगी प्रकरणमा २५ जना विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । हामीले प्रहरीमार्फत प्रतिवादीलाई पक्राउको लागि पत्र पठाउनेछौं । सातदिन भित्रमा प्रतिवादीहरु पक्राउ नपरे प्रहरीले सम्बन्धित व्यक्ति र प्रतिवादीको घरमा तामेली गर्दछ,’ सूचना अधिकारी बुढाथोकीले भने, ‘ म्याज गुजारी बसेमा मुद्दा कानूनबमोजिम प्रक्रिया अगाडी बढनेछ ।’
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते संघीय संसदको सार्वजनिक लेखासमिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको थियो । मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पूर्पक्षका लागि थुनामा पठाएको छ । उनी धनपालथान गाउँपालिका –४ का पूर्व वडाध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
अन्य प्रतिवादी फरार छन् । फरार प्रतिवादीको सूचीमा रंगेली नगरपालिका – २ का वडाध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि छन् । उनी सहकारीको पूर्वउपाध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । प्रहरीले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।
उमागौरी सहकारीमा सहकारी ऐन २०७४ को दफा १२२ अनुसार कारवाहीको माग गरिएको छ । यो सहकारी संघिय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलसँग नजिक रहेका उनका कार्यकर्ता धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियारले खोलेका थिए ।
सहकारी स्थापना गर्दा पोखरेलले आफ्नी श्रीमतीलाई सञ्चालक समितिमा राखेका थिए । शिक्षण पेशामा रहेका कारण सहकारीको काममा समय दिन पाउँदिन दिइन् । स्रोतका अनुसार रौनियाले पोखरेलसँगको सल्लाहमा सहकारीको काम गर्थे । सहकारीले बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको छ । यस्तो ऋणका लागि सहजिकरण पनि पोखरेलले राष्ट्र बैंक मार्फत बनाएको उनी निकट स्रोत बताउँछ । तर पछिल्लो समय भने सहकारीका अध्यक्ष रौनियार र पोखरेलको सम्बन्ध बिग्रिएको छ ।
सांसद् पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी सङ्कटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर उनी सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालोसूचीमा छन् । उनले कालोसूची हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दा बिचाराधीन छ ।
सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो । उजुरीका लागि सार्वजनिक आह्वान पनि गरेको थियो । आह्वान गर्दा २० जना ऋणीले आफूहरु ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका छन् । महिला उद्यमशील कर्जाका नाममा सदस्यको कागजात संकलन गरी सहकारीले नविक बैंकबाट ऋण निकालेर सहकारीले थोरै मात्रै सदस्यलाई दिने गरेको थियो । सदस्यले ऋणको किस्ता बापत सहकारीमा बुझाएको रकम बैंकमा दाखिला नगरी सञ्चालक आफैले प्रयोग गरेका थिए । सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।
६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी
सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयले संसद पत्नी अञ्जला कोइरालासहित प्रतिवादीहरुलाई ६ देखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी लिएर अभियोग अदालतमा दर्ता भएको छ । अभियुक्तहरुलाई सहकारी ऐनको दफा १२४ को उपदफा (१) को देहाय (घ) (५) बमोजिम विगो २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ बिगो कायम गरि ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी अभियोगपत्रमा छ ।
उमागौरी सहकारीमा सांसद पोखरकी पत्नी अञ्जला सहकारीमा रकम हिनामिना हुँदाको बखत २०७२ देखि ०७८ सम्म अञ्जला सञ्चालक सदस्य थिइन् । उनीसमेतको हस्ताक्षरबाट भएको निर्णयको आधारमा सहकारीले बुटवलस्थित आरएसडिसी लघुवित्तबाट ऋण लिएको छ । तर, सो ऋण नतिरेपछि सहकारीले अञ्जलासहित सञ्चालकविरुद्ध मुद्दा दर्ता गरेको छ भने उनीहरुलाई कालोसुचीमा राखेको छ ।
एमाले सांसद पोखरेकै अगुवाइमा सहकारीले नविल बैंक र आरएसडिसी लघुवित्तबाट सहकारीका सदस्यको नाममा कर्जा लिएको थियो । तर, सो कर्जा सञ्चालकहरुले नै हिनामिना गरेका छन् । सहकारीका ७०७ ऋणीका नाममा २४ करोड ३० लाख ८० हजार कर्जा प्रवाह भएको छ । तर, सोमध्ये सहकारीका सदस्यले आधा पनि ऋण नलिएको देखिएको छ । बरु अध्यक्ष रौनियारसहित सञ्चालकले नै सो रकम हिनामिना गरेको पीडितले बताउँदै आएका छन् ।
सहकारीमा करिब पाँच हजार सेयर सदस्य छन् । कतिपय ऋणीलाई बैंकबाट ऋण लिन लागेको थाहै नदिई झुक्याएर हस्ताक्षर र ल्याप्चे गराइएको छ । बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि करिब डेढ वर्षदेखि सहकारीमा ताला लगाइएको छ । सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरुको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ सेयर रकम रहेको र ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको सहकारीले देखाएको उल्लेख छ । ऋणमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ ऋण उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखाइएको विवरण छ ।
ऋणहरुको निवेदन समेतको व्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमशिल कर्जा शीर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरुले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नविल बैंक लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकमभन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराइ आधा रकम आफैंले खाइमासी हिनामिना गरेको कारण हाल सफ्टवेयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । कर्जाको लागि धितो राखेको घरजग्गा सम्बन्धित ऋणीहरुको सहमतीबिना नै नविल बैंकमा धितो राखी उक्त रकम निकासा भएपश्चात अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ ।
‘प्रमाणहरु समेतबाट संस्थामा आवद्ध प्रतिवादी अंजलासहितका २६ जनाले समयमा साधारणसभा गरी संस्थालाई नाफामा देखाउने उद्देश्यले गलत लेखा परीक्षण गराउने, संस्थाका पदाधिकारीहरु संस्थाको आयोजनामा हुने मिटिङमा सहभागी हुने, निर्णयमा दस्तखत गर्ने कार्यले सबैको संलग्नतासमेत स्थापित भएको‘,’ अभियोगपत्रमा उल्लेख छ । फरार प्रतिवादीको सूचिमा रंगेली नगरपालिका–वडा नम्बर २ का वडा अध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि छन् । सहकारीको पूर्वउपाध्यक्ष उनी २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।