इनरुवा । सशस्त्र प्रहरी बल धरान बेश क्याम्पले कारसहित १ सय नब्बे किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीले दिएको जानकारी अनुसार धरान १३ शिवधारा क्षेत्रको कोशी लोकमार्गबाट धरान बेसक्याम्पको टोलीले कारसहित गाँजा बरामद गरेको हो । भेडेटारबाट धरान तर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारमा लुकाई राखिएको अवस्थामा १ सय ९० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको चेकिङको क्रममा सुरक्षाकर्मी देखेर कार चालक गाडी छाडेर भागेपछि खोजतलासका क्रममा कार भित्र लुकाइएको अवस्थामा गाँजा भेटिएको सशस्त्र प्रहरीले जनाइएको छ ।

नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार कार र गाँजा बरामद पश्चात खोजतलास र शंकास्पद व्यक्ति उपर निगरानीका क्रममा को ३५ प २०४५ नम्बरको डुक मोटरसाइकलमा सवार दुईजनालाई नियन्त्रणमा लिइएको छ ।

हेड क्वाटरले दिएको जानकारी अनुसार मोटरसाइकलमा सवार सुनसरी बराहक्षेत्र ७ का कर्ण बहादुर पाण्डे र धनकुटा ९ का सलमान राई उपरको अनुसन्धानका क्रममा गाँजा तस्करीको कनेक्सन देखिएको छ ।

पक्राउ परेकाहरुको मोबाइल फोनको कल डिटेलका अधारमा उनीहरु गाँजा खरीद बिक्रि तथा बाटो स्कर्टिङको काममा संलग्न रहेको खुलेको सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ । बरामद गाँजा सहित कार,मोटरसाइकल र व्यक्तिको हकमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।