विराटनगर । प्रतिबन्धित औषधि बिक्री गर्ने रङ्गेलीका एक फार्मेसी सञ्चालक पक्राउ परेका छन् । भारतबाट अवैधरूपमा नेपालमा भिœयाइएको औषधिसहित फार्मेसी सञ्चालक सञ्जयकुमार मण्डल पक्राउ परेका हुन् ।
रङ्गेली नगरपालिका–७ शुक्रबारे आदर्शटोलस्थित इसान्त फार्मेसीका सञ्चालक मण्डललाई भारी परिमाणमा प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो । उनले पूर्वी क्षेत्रमा औषधि बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । भारतबाट तस्करी गरी औषधि ल्याई लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रङ्गेली र लागूऔषध ब्यूरो विराटनगरको टोलीले मण्डलको फार्मेसीबाट ठूलो परिमाणमा प्रतिबन्धित र अनुचितरूपमा प्रयोगको लागि राखिएको औषधि पनि बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदराज जोशीले जानकारी दिए ।
प्रहरीले फरक–फरक नामका प्रतिबन्धित औषधि बरामद गर्न सफल भएको छ । प्रहरीका अनुसार पाँच हजार तीन सय थान क्याप्सुल, दुई हजार थान ट्याब्लेट, तेह्र हजार ६ सय थान ट्याब्लेट बरामद गरेको हो । औषधिको अनुचित प्रयोग गर्दै लागूऔषध प्रयोगकर्ता र पूर्वका विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी जोशीले बताए ।
प्रहरीले उनलाई मङ्गलबार लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले अनुसन्धान पूरा गरेपछि अदालतमा बुझाएपछि औषधि व्यवस्था विभाग विराटनगरले पनि अनुसन्धान सुरु गर्ने तयारी गरेको छ । औषधि व्यवस्था विभागले पछिल्लो समय जनगुनासो र प्राप्त सूचनाको आधारमा अनुगमन गर्ने क्रममा औषधिको चरम् दुरुपयोग बढेको जनाएको छ । यसअघि केही फार्मेसीहरूले विभिन्न औषधिलाई लागूऔषधको रूपमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको विभागका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले जानकारी दिए ।
फार्मेसी निरीक्षक खड्काले भने, ‘अहिले दुखाइ कम गर्ने औषधिहरू मिक्स गरी लागूऔषध बनाएर बिक्री वितरण गर्ने गरेको भेटिएको छ ।’ पक्राउ परेकाहरूलाई विभागले औषधि ऐन २०३५ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । यसअघि पनि नेपाल औषधि व्यवसायी सङ्घ उदयपुरका महासचिव वीरेन्द्रकुमार झाले होलसेल औषधि पसल खोलेर औषधिको अनुचित प्रयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री–वितरण गर्ने गरेको पाइएको थियो ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा गोपीकृष्ण मेडिकल हल औषधिको होलसेल पसल खोलेर झाले लागूऔषध प्रयोगकर्तालाई अनुचितरूपमा औषधि विक्री–वितरण गर्ने गरेको विभागले गरेको अनुगमनको क्रममा भेटेको थियो । अवैधरूपमा भित्रिने प्रतिबन्धित औषधिहरूको कारोबार ह्वात्तै बढेको औषधि व्यवस्था विभाग बताउँछ ।