विराटनगर । भारतका प्रसिद्ध ‘फेना’ र पतञ्जली कपडा धुने सर्फसँग मिल्दोजुल्लो प्याकेजिङ गरी बिक्री वितरण हुने गरेको पाइएको छ । विराटनगर–५ मा रहेको युनिक लिक्विड सोप एण्ड डिटर्जेन्ट उद्योगले भारतको फेना र पतञ्जली सरफसँग मिल्दोजुल्दो उत्पादन बनाएर बिक्री वितरण गरेको भेटिएको छ । फेना र पतञ्जलीका प्रतिनिधिले ब्रान्ड चोरी गरी नक्कली सरफ बनाएर बिक्री वितरण गरेको उजुरी दिएपछि बुधबार अनुसन्धानको लागि युनिक लिक्विड सोप एण्ड डिटर्जेन्ट उद्योगमा शिलबन्दी गरिएको छ ।

युनिक सोपले भारतमा उत्पादन गरिने फेना ब्रान्डको डिटर्जेन्ट पाउडरलाई युनिक फेना र पतञ्जली ब्रान्डको डिटर्जेन्ट पाउडरलाई पतजली ब्रान्ड नेम दिएर उस्तै देखिने खोलमा उत्पादन गरिरहेको उजुरी परेपछि उद्योगको उत्पादनबारे अनुसन्धानको लागि शिलबन्दी गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले जानकारी दिएका छन् । नेपाल सरकारले ब्रान्ड स्वीकृत गरेका भारतीय उत्पादन फेना र पतञ्जलीजस्तै देखिने प्याकेजिङमा उत्पादन गरेको उजुरी परेकाले कार्यालयको टोली उद्योगमा पठाएको उनले बताए ।

‘प्रशासनबाट अनुगमन टोली उद्योगमा पुग्दा बन्द थियो । अनुसन्धानको लागि तत्कालको लागि उद्योगमा शिलबन्दी गरिएको छ’ उनले भने, ‘शुक्रबार वाणिज्य कार्यालय, विराटनगर महानगरपालिका र प्रहरीको रोहवरमा खोलेर निरीक्षण गरिनेछ । त्यसपछि बास्तबिक थाहा हुनेछ ।’ उपभोक्ताले खरिद गरेको युनिक फेना र पतञ्जली वास्तविक फेना र पतञ्जली जस्तै प्याकेजिङमा छन् । ब्राण्ड चोरी गरेर बजारमा ल्याइएको उस्तै प्याकेजिङभित्रको सरफको गुणस्तरको परीक्षण हुन बाँकी छ ।

भारतबाट फेना सरफ विराटनगरस्थित श्रीकृष्ण ट्रेडर्सले बिक्रीवितरण गर्दै आएको छ । उक्त ट्रेडर्सका सञ्चालक अरुण जैनका अनुसार फेनाको एक केजीको मूल्य १ सय २५ रुपैयाँ छ । युनिक फेनाले उस्तै प्याकेजिङमा एक सय रुपैयाँ मूल्य राखेर बजारमा बिक्री वितरण गर्दै आएको छ । यस्तै पतञ्जलीको वितरक भगवती ट्रेडर्सका नितेश अग्रवालका अनुसार एक केजी सरफको उस्तै प्याकेजिङमा ९ सय ग्राम मात्रै छ । यसमा ब्राण्ड चोरी, भन्सार तथा राजस्व छली, कर छली, गुणस्तरमा समेत कमजोरी छ । तर, यसको विषयमा राज्यका निकायलाई जानकारी गराउँदासमेत कारबाही भइरहेको छैन ।

नक्कली सरफमा ब्लिच सोडा मिसिएको उनीहरूको अनुमान छ । किनकि डिटर्जेन्ट आयात गर्ने पार्टीले बजारमा बिक्री गर्दासमेत पान बिलमा ४० हजार रुपैयाँसम्मको कारोबार गरेको देखिन्छ । कुन्तादेवी केमिकल टे«डर्सको नाममा काटिएको बिल ३८ हजारसम्मको रहेको पाइएको छ । सरफ मात्रै नभई धोनी साबुनको समेत ब्राण्ड चोरी भएको उनीहरूको आरोप छ ।