धरान । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । व्यवसायी प्रसाईंका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए । गैरकानूनी रूपमा थुनामा राखेको भन्दै छोराले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । प्रसाईं गत मङ्सिर ४ गते निज निवास भक्तपुरबाट पक्राउ परेका थिए ।

उनलाई साइबर ब्यूरोले साइबर अपराध कसूरमा पक्राउ गरेको थियो । सिआइबीले उनमाथि सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसूरमा पनि अनुसन्धान गरिरहेको थियो । गत मङ्सिर २७ गते उनलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

रिहा भए पनि उनलाई सिआइबीले नियन्त्रणमा लिई सङ्गठित अपराध र आपराधिक लाभ कसूरमा मुद्दा चलाएको थियो । उनले भारतका कुख्यात अपराधी विस्नोईको नाममा व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा अनुसन्धान गरेको थियो ।