धरान । सूर्यदर्शन सहकारी ठगीमा जीवी राईसहित १९ जना विरुद्ध थप अभियोग शुक्रबार दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालय कास्कीले ठगीमा संलग्न पूर्व अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सहित १९ जना विरुद्ध थप अभियोग दर्ता भएको जनाइएको छ । तर, सोही ठगीमा संलग्न रही हाल अनुसन्धानमा रहेका रवि लामिछानेलगायतको मुद्दा भने आइतबार दर्ता हुने अनुमान गरिएको छ । जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेका अनुसार थप ४० करोड २० लाख ७६ हजार एक सय ४० रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको छ । योसँगै कूल बिगो एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ४ रुपैयाँ पुगेको उनले जानकारी दिए ।

थप अभियोग दर्ता भएकामा सहकारीका पूर्व अध्यक्ष जीबीसहित उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई रहेका छन् । यस्तै पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि थप अभियोग दर्ता भएको हो ।

रास्वपा सभापति रवि लामिछानेको विषयमा भने आइतबार मात्रै अभियोग आउन सक्ने श्रेस्तेदार लामिछानेले अनुमान गरे । पूरक जाहेरीपश्चात् भने हाल थुनामा रहेका गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, नेटवर्कका सञ्चालक एवम् पूर्व डिआइजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ३२ जनाको हकमा भने आइतबार मात्रै अभियोग दर्ता हुने जनाइएको छ । रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको कार्यालयले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बचतकर्ताको उजुरीपश्चात् अनुसन्धान गरी तयार पारेको प्रतिवेदन गत असोज १६ गते सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । तत्कालीन समयमा एक हजार ३६ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । सूर्यदर्शनका पूर्व अध्यक्ष जीबीलाई भने क्रिप्टो करेन्सीमा पनि मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।