धरान । उदयपुरको बेलका नगरपालिका–९ बाट उपचारको लागि ल्याइएका एक १५ महिने बालकको शनिबार चिकित्सकको लापरबाहीले मृत्यु भएको आफन्तले बताएका छन् ।
झाडापखालाको समस्या देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका आरोह खड्काको मृत्यु डाक्टरको लापरबाहीका कारण भएको भन्दै परिवारले गुनासो गरेका छन् । बालकलाई शुक्रबार राति झाडापखालाले समस्या पारेपछि प्रतिष्ठान ल्याइएको थियो ।
झाडापखालाको समस्या जारी रहेको जानकारी गराउँदा पनि इमर्जेन्सीमा खटिएका चिकित्सकले बालकको स्वास्थ्य गम्भीर नरहेको भन्दै उपचारमा ढिलाइ गर्दा मृत्यु भएको मृतकका पिता मोहन खड्काले जनाकारी दिए ।
मृतकका आफन्तले प्रतिष्ठानको लापरबाहीको विषयमा प्रश्न उठाएपछि घटनाप्रति ध्यानाकर्षण भएको भन्दै प्रतिष्ठानका अस्पताल निर्देशक निर्देशक डा. जगतनारायण प्रसादले चिकित्सकको दोष देखिए कारबाही गर्ने बताएका छन् ।
अस्पताल निर्देशकले आइतबार छलफलका लागि बोलाएको बालकका पिता खड्काले जानकारी दिए । सामान्य झाडापखालाको बिरामीलाई आकस्मिक कक्षमा समयमा उपचार नगरिदिँदा मृत्यु भएको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने खड्काले बताए ।
ती बालकलाई एक साताअघि प्रतिष्ठानमा उपचार गरी पुस ३ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । छोरालाई झन् समस्या भएपछि शुक्रबार राति पुनः प्रतिष्ठानमा ल्याएको खड्काले बताए । यस विषयमा प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजितकुमारले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भनेर निवेदन दिएको बताउँदै यस विषयमा आज (आइतबार) सम्बन्धित चिकित्सक र पीडित परिवारसँग छलफल गरिने बताए ।