विराटनगर । कोशी प्रदेशको राजधानी रहेको सहर विराटनगरमा गुण्डागर्दी फेरि मौलाउन थालेको छ । पछिल्ला केहीवर्ष प्रहरीले नरम रणनीति लिएको फाइदा उठाउँदै गुण्डागर्दीमा संलग्नहरू सक्रिय हुन थालेका छन् ।

विराटनगरमा एक हप्ताभित्रमा पछिल्ला तीन घटनाले पनि यसको सङ्केत गरेको छ । गत मङ्गलबार राति साढे १० बजे विराटनगर–११ का रेगन कँडेलले तरवार प्रहार गरेर एक युवालाई घाइते बनाए ।

सामान्य विवादमा कँडेलले विराटनगर–१२ का विजय कामतलाई तरवार प्रहार गरेर घाइते बनाएका हुन् । उनको दायाँ हातमा गहिरो चोट लागेको छ । आक्रमण गर्ने कँडेललाई प्रहरीले बुधबार मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरेर अहिले अनुसन्धान गर्दै आएको छ ।

तरवार प्रहार गरेर घाइते बनाएको चारदिनपछि शनिबार दिउँसो विराटनगरको व्यस्त बजार ट्राफिक चोकदेखि उत्तरको मेनरोडमा रहेको बालाजी कपडा पसलका सञ्चालक ४३ वर्षीय विजय अग्रवालमाथि आक्रमण भएको छ । रुसतम उप्रेती, रितिक साह, नितेन कटुवाललगायतका समूहले व्यापारी अग्रवालको पसलमा पुगेर निर्घात कुटपिट गरेका हुन् । अग्रवाल विराटनगर–४ एयरपोर्ट लाइनमा रहेको तृष्णा रेष्टुरेन्टका सञ्चालक पनि हुन् ।

शुक्रबार राति तृष्णामा व्यापारी अग्रवाल र अर्का सञ्चालक अमन साहले रुसतमलाई बाउन्सर लगाएर कुटपिट गरेको आरोप छ । रेष्टुरेन्टबाहिर उप्रेतीले अपशब्द बोलेको भन्दै व्यापारी अग्रवालले बाउन्सर लगाएर बाहिर निकालेर कुटपिट गरेको उनीहरूको भनाइ छ । राति रेष्टुरेन्टबाहिर कुटपिट गरेको निहुँमा उप्रेतीसहितको १० देखि १२ जनाको समूहले अग्रवालको विराटनगर–९ मेनरोडमा रहेको कपडा पसलमै आएर आक्रमण गरेका छन् । युवाहरूको आक्रमणबाट अग्रवालको टाउको र अनुहारमा चोटपटक लागेको छ ।

‘शनिबार बिहान ११ बजे पसलमा आएर बसेका थिए । तेही बीचमा १० देखि १२ जनाको समूह आएर अन्धाधुन्ध आक्रमण गर्न थाले । पसलमा रहेको एल्मुनियमको पाइपले मेरो टाउकोमा ५० पटकभन्दा बढी प्रहार गरे । तेही भएर चोटपटक पनि लागेको छ’ व्यापारी अग्रवालले भने, ‘अघिल्लो दिन होटलमा झगडा भएको थियो । मैले गएर छुट्याएको थिएँ । तेही निहुँमा एक्कासि आएर निर्घात कुटपिट गरेका छन् ।’ व्यापारी अग्रवाललाई उप्रेतीले एल्मुनियमको पाइपले कुटपिट गरेको सिसिटिभी फुटजेमा पनि देखिन्छ । पसलमा रहेको पाइप उचालेर पटक–पटक अग्रवाललाई प्रहार गरेको देखिन्छ । त्यसपछि विमल कार्कीले पसलको सिसामाथि चढेर हेल्मेटले प्रहार गरेको सिसिटिभी फुटेजमा देखिन्छ । मरणासन्न हुने गरी कुटपिट गरेपछि अग्रवालले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दर्ता गराएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले घटनाको विषयमा अनुसन्धान गर्दै आएको बताए  । ‘हामीले अनुसन्धान सुरु गरेका छौं । आक्रमणमा संलग्नको खोजी कार्य जारी रहेको छ’ डिएसपी जोशीले भने, ‘घटनामा संलग्न सबै पक्राउ पर्नेछन् ।’ पछिल्ला यी तीन घटनाले विराटनगरमा शान्ति सुरक्षाको विषयमा गम्भीर प्रश्न खडा भएको छ । विगतमा विराटनगरमा राजनैतिक संरक्षणमा गुण्डागर्दी हुने गरेको थियो । त्यसबेला प्रहरीले कडाइ गरेपछि पुराना डनहरू सुध्रिए । तर, अहिले प्रहरी नरम भएपछि युवापुस्ता गुण्डागर्दीमा सक्रिय भएका छन् ।

शान्ति सुरक्षामा खलल पु¥याउनेलाई छोड्दिनँ: एसपी
मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले शान्ति सुरक्षामा खलल पुर्याउने र उच्छृङ्खल गतिविधिमा संलग्नलाई कारबाही गरेरै छोड्ने बताएका छन् । समाजमा शान्ति सुरक्षामा खलल पुर्याउनेविरुद्ध खरोरूपमा उत्रिने उनको भनाइ छ ।

‘विराटनगरमा शनिबार भएको घटनाका विषयमा प्रहरी गम्भीर छ । घटनामा संलग्न सबै पक्राउ पर्ने र कानूनी दायरामा आउनेछन् । अहिले प्रहरी खोजी कार्यमा व्यापकरूपमा लागिपरेको छ’ एसपी चिमरियाले भने, ‘केही दिनअगाडिको तरवार प्रकरणमा पनि संलग्नलाई पक्राउ गरी अहिले कानूनी दायरामा ल्याइएको छ ।’ उच्छृङ्खल र अराजक गतिविधिमा संलग्नविरुद्ध प्रहरी निर्मम ढङ्गले कारबाहीमा लागिपर्ने उनले बताए ।