इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशले बृहत् विरोध प्रदर्शन कार्यक्रम गर्ने भएको छ ।

कोशी प्रदेश कार्यसमितिका अध्यक्ष रामकुमार थापाले प्रदेश सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै पुस १३ गते इटहरीमा बृहत् विरोधसभा आयोजना गर्ने जानकारी दिएका छन् ।

प्रदेश सरकारको खारेजी, स्थानीय स्वायत्त शासन प्रणालीको अधिकार पुनस्र्थापना, धार्मिक स्वतन्त्रता, र सनातन वैदिक हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउने बताउँदै, सहकारी पीडितहरूको विषयलाई पनि विरोधसभामा समेट्ने अध्यक्ष थापाले जानकारी गराए ।

सभामा सरकारको आलोचना गर्ने मात्र नभई सामाजिक र धार्मिक अधिकारहरूको पक्षमा स्पष्ट धारणा प्रस्तुत गर्ने बताइएको छ । राप्रपाले धार्मिक स्वतन्त्रताको सुनिश्चितता र सनातन वैदिक हिन्दु राष्ट्रको पक्षमा दृढता देखाउँदै विरोधसभामा विशेष ध्यान दिने योजना बनाएको छ ।