विराटनगर । मोरङको जहदा गाउँपालिकास्थित बाँसको झ्याङमा हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अर्धचेत अवस्थामा भेटिएकी एक युवतीको प्रहरीले उद्धार गरेको छ ।

मङ्गलबार बिहान मर्निङ वाकमा जान्छु भनेर हिँडेकी ती युवतीलाई जहदा गाउँपालिका–३ स्थित बाँसको झ्याङमा हातखुट्टा बाँधिएको र मुखमा सल कोचिएको अवस्थामा अर्धचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

‘पराल लिन गएकी एक महिलाले देखेपछि हामीसँग घटनाबारे जानकारी आयो, हामी पुगेर बाँधेको डोरी खोलेर उपचारका लागि अस्पताल पठायौँ’ डिएसपी जोशीले भने, ‘युवतीको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ, घटनाको विषयमा अनुसन्धान पनि भइरहेको छ ।’ डिएसपी जोशीका अनुसार ती युवतीले लगाएका कपडा च्यातिएका छन्, शरीरका केही भागमा निलडाम पनि छन् । उनीमाथि हातखुट्टा बाँधेर जबरजस्ती करणी भएको आशङ्का आफन्त र प्रहरीको छ । तर मेडिकल परीक्षणपछि मात्रै सो विषय खुल्ने प्रहरीको भनाइ छ । युवतीका आफन्तका अनुसार घरबाट मर्निङ वाक जान्छु भनेर निस्किएपछि ती युवती सामूहिक बलात्कारको शिकारमा परेको दाबी गरेका छन् ।

युवतीलाई बाँसको झ्याङमा कसैले नदेख्ने स्थानमा लगेर हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएपछि जबर्जस्ती बलात्कार गरिएको हुनसक्ने उनकी दिदीले बताएकी छन् । अस्पताल पु¥याएपछि उनको होस खुलेको उनको परिवारले जनाएको छ । उनको कोशी अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र(ओसिएमसी) मा राखेर उपचारमा भइरहेको छ ।

तीन जना नियन्त्रणमा
२२ वर्षीया ती युवतीको हातखुट्टा बाँधेर अर्धचेत बनाएर बाँसको झ्याङमा छोडेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीबाट खटिएको टोलीले मङ्गलबार तीन जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने गोप्य प्रहरीले खुलाएको छैन । मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले सोधपुछको लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिए । ‘हामीले यो घटनालाई सूक्ष्म तरिकाले अनुसन्धान सुरु गरिएको छ । यस घटनामा केही व्यक्तिलाई हामीले सोधपुछको लागि ल्याएको हो’ उनले भने, ‘अनुसन्धानपछि थप विषय खुल्नेछ ।’