धरान । रकमान्तरण गर्नै नमिल्ने छात्रवृत्तिको रकम सुनसरीको कोशी गाउँपालिका–८ स्थित सप्तकोशी मा.वि.ले रकमान्तरण गरी शिक्षकलाई तलब खुवाएको पाइएको छ ।

सशर्त अनुदानमार्फत् आएको रकम अन्यत्र रकमान्तरण गर्ने अधिकार नभए पनि सप्तकोशी मा.वि.का प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले संयुक्तरूपमा रकमान्तरण गरी निजी स्रोतका तीनजना शिक्षकलाई तलब खुवाएको पाइएको हो । छात्रवृत्तिको रकम ९ महिना बित्दासम्म वितरण गरेको छैन । स्थानीय सरकारको कानून बन्नुअगि २०७४ सालमा निर्मित ‘विद्यालय छात्रवृत्ति व्यवस्थापन निर्देशिका’ को परिच्छेद ८ को विविध शीर्षकको दफा ८ को उपदफा १ मा छात्रवृत्ति रकम अन्यत्र रकमान्तरण गर्न नमिल्ने उल्लेख छ ।

विद्यालयका प्रधानाध्यापक कैलाश झाले निजी स्रोतका तीनजना शिक्षक, कर्मचारीलाई कोशी गाउँपालिकाले तलब पठाउन ढिला गरेपछि रकमान्तरण गरेर तलब वितरण गरेको बताए । ‘म आएकै दिन तलब खुवाउनुपर्ने थियो । छात्रवृत्तिको रकमबाट पैसा वितरण ग¥यौँ । पालिकाबाट ढिलो चाँडो पैसा आइहाल्छ भनेर खुवाएका थियौँ’–उनले फोनसम्पर्कमा भने । विद्यालय व्यवस्थापन समिति (विव्यास) ले रकमान्तरण गर्ने निर्णय गरेको उनले बताए । तर, स्थानीय तहमा रहेका शिक्षा प्रमुखका अनुसार सशर्त अनुदानको रकम कुनै पनि हालतमा रकमान्तरण गर्न मिल्दैन । ‘व्यवस्थापन समितिले निर्णय गरेर पनि दिन मिल्दैन, रकमान्तरण गर्न मिल्दैन । छात्रवृत्तिमै बाँड्नुपर्छ’–स्थानीय तहका एक शिक्षा प्रमुखले भने ।

नाम नछाप्ने शर्तमा एक शिक्षकले भने, ‘सशर्तको पैसा जेमा आएको छ, त्यसैमा खर्च हुनुपर्छ । उब्रिएको पैसा राज्यकोषमै फिर्ता गर्नुपर्छ । नभए अडिटरले पनि बेरुजु देखाउँछ ।’ शैक्षिक सत्र २०८०÷०८१ मा दिनुपर्ने एक लाख ३६ हजार ८ सय रुपैयाँ छात्रवृत्ति रकम हालसम्म विद्यार्थीहरूले नपाएका हुन् । भण्टाबारीका स्थानीय सञ्चारकर्मी देवराज यादवले भने, ‘गत वर्षको छात्रवृत्ति रकम अहिलेसम्म पाएका छैनन् । यो विषयमा मैले भिडियो पनि बनाएर फेसबुकमा हालेको छु । अभिभावकले त्यो कुरा बोलेका छन् ।’ उनका अनुसार तीन सय ४२ जना विद्यार्थीको छात्रवृत्ति हालसम्म नदिएको हो । अभिभावक नजिर मियाँका अनुसार अहिलेसम्म गत वर्षको छात्रवृत्ति नपाएको बताए । ‘एक वर्ष भइसक्यो । मेरो ३, ४ र ५ कक्षामा गरी तीनजना छोराछोरीहरू पढ्छन् । छात्रवृत्ति पाएको छैन’–उनले फोनसम्पर्कमा भने । सोही स्कुलछेउका अर्का स्थानीयले नाम नछाप्ने शर्तमा भने, ‘छात्रवृत्ति रकम वितरण गरेको छैन । त्यही भएर विवाद भएको छ ।’

यो रकम अघिल्लो प्रधानाध्यापक अरुणदेव यादवको पालामा वितरण गर्नुपर्ने थियो । उनी जेठको पहिलो साता अर्कै विद्यालयमा सरुवा भइसकेका छन् । उनीपश्चात् प्रधानाध्यापक भई आएका कैलाश झाले पनि वितरण गरेका छैनन् । सामान्यतः विद्यालयमा आएको छात्रवृत्ति रकम वैशाखसम्म वितरण गरिसक्नुपर्ने प्रावधान छ । अघिल्लो प्रअ यादवले भने, ‘सरुवाको हतारो थियो । हेडसर एक्लैले मात्रै निर्णय गरेर नहुने । विद्यालय व्यस्थापन समितिको पनि निर्णय चाहिने भएकाले त्यो बेला बाँड्न सकिएन । पछि बाँडौंला भन्ने कुरा भयो । म सरुवा भइहालेँ ।’ उनले प्रअले त्यो पैसा गोजीमा नहालेको र विद्यालयको पनि कुनै त्रुटि नभएको दाबी गरे । ‘हेडसरले गोजीमा हालेको त हुँदैन । गल्ती चाहिँ गाउँपालिकाको देखिन्छ । उतादेखि पैसा छोडिदिएको भए समस्यै आउँदैनथ्यो’–उनले भने ।

यता विव्यसका अध्यक्ष राजकुमार यादवलाई ९८४२५०६२८५ नम्बरको मोबाइलमा फोनसम्पर्क गर्दा स्विचअफ रहेको पाइयो । विद्यालय छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७४ को दफा ३ को उपदफा ४.१ मा छात्रवृत्ति व्यवस्थापनसम्बन्धी कार्य जिल्ला शिक्षाका प्रमुखमा रहने व्यवस्था गरेको छ । सोअनुसार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई यसबारे बुझ्दा उनले भने, ‘यो नितान्त कोशी गाउँपालिकाको विषय हो । पालिकाले गरेका कामहरूको निरीक्षण, मूल्याङ्कन गर्ने अधिकार एकाइले राख्दैन । यो शिक्षा अधिकृतसँग सम्बन्धित विषय होइन । पालिकाले नै गर्छ ।’

शिक्षा शाखामा प्रमुखको जिम्मेवारीमा रहेका प्राविधिक सहायक मदन पाण्डेका अनुसार रकमान्तरण गर्न मिल्दैन । ‘हामीलाई मौखिक जानकारीसम्म आएको छ । यस विषयमा कुराहरू उठेको छ । शाखाले के गर्ने, कसो गर्नेभन्दा पनि शिक्षा समितिमा पेश गर्छौं । शिक्षा समितिले कस्तो निर्णय गर्छ’ उनले भने, ‘निर्णय गर्दाखेरि कुन हदसम्म निर्णय गर्ने भन्ने होला । को दोषी भनेर छानबिन गर्ने कि सिधै कारबाही गर्ने भन्ने निर्णय होला ।’ उनका अनुसार अघिल्लो प्रअ अरुणदेव यादवको पालामा खाताबाट पैसा निकालेको भन्ने कुरा वर्तमान प्रअ कैलाश झाले जनाएका छन् । ‘ताकेता गरेका छौँ । अहिलेसम्म आएको छैन’–उनले भने ।