धरान । ‘कृषि, प्रविधि र नवप्रवर्तन’ लाई मुख्य विषय बनाई इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा ‘डेल्टा ५.०’ हुने भएको छ ।

क्याम्पसअन्तर्गतका सातवटा विद्यार्थी समाज, रोबोटिक्स क्लबको संयुक्त आयोजनामा आउँदो माघ १८ गतेदेखि तीनदिनसम्म कार्यक्रम सञ्चालन हुने बिहीबार पत्रकार सम्मेलन गरी जनाइएको छ । प्रविधिमा आएको व्यापक परिवर्तनलाई आत्मसात गर्नका लागि पनि कार्यक्रम गर्न लागिएको आयोजकतर्फका संयोजक विवेक न्यौपानेले जानकारी दिए ।

यसले विद्यार्थीहरूलाई प्रविधि र नवप्रवर्तनमा संलग्न गराई बौद्धिक विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा कृत्रिम बुद्धिमत्ता र स्वचालक, प्रविधि नवप्रवर्तन, डिजिटल अर्थतन्त्र, स्मार्ट सिटीका लागि इन्जिनियरिङ र विश्वव्यापी समाधानका लागि इन्जिनियरिङजस्ता उपविषयहरू रहेको संयोजक न्यौपानेले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीहरूमा ज्ञान र सीपलाई अभिवृद्धि गर्दै भविष्यमा प्रविधि र नवप्रवर्तनमा उन्मुख गराउने विश्वास लिइएको छ । क्याम्पसले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ । कार्यक्रमलाई स्वतन्त्र विद्यार्थी युनियनको सहकार्य रहेको स्ववियु सभापति नवीन श्रेष्ठले जानकारी दिए ।