धरान । सहकारीको विषयमा देशभरि नकारात्मक टीकाटिप्पणी भइरहेका बेला सुनसरीको धरान–१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले भने उल्लेख्य आम्दानी गर्न सफल भएको छ ।

उद्यमशीलले आर्थिक वर्ष २०८०/०८१ मा पाँच करोड ७९ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको संस्थाका उपाध्यक्ष एवम् १२ औँ साधारणसभाका सभाध्यक्ष सिङ्गबहादुर मादेनले बताए । उनले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा भने, ‘संस्थाले आ.व. २०८०/०८१ मा पाँच करोड ७९ लाख ९२ हजार १८ रुपैयाँ आर्जन गर्न सफल भएको छ ।’

संस्थाले गत आर्थिक वर्षमा २ अर्बभन्दा बढी कारोबार गर्न सफल भएको उनले बताए । उनका अनुसार दुई अर्ब ७२ करोड ३४ लाख ३३ हजार पाँच सय ५७ रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको हो । यो रकम गत वर्षभन्दा ३९ करोड ७६ लाख ३७ हजार सात सय ३७ रुपैयाँले बढी हो । संस्थामा हाल पाँच हजार दुई सय ६१ जना शेयर सदस्य छन् । जसमध्ये महिलाको सङ्ख्या दुई हजार सात सय ५३ रहेको छ भने पुरुषको सङ्ख्या दुई हजार पाँच सय १८ रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० भन्दा गतवर्ष ०.७८ प्रतिशतले ऋणात्मक बनेको छ । सहकारीका विषयमा नकारात्मक टीकाटिप्पणीका कारणले गर्दा शेयर सदस्यतामा भने केही कमी आएको संस्थाले जनाएको छ । धरान–१० सैनिक चोकमा मुख्य कार्यालय रहेको संस्थाको हाल धरान–५ देउराली र इटहरीमा सेवा केन्द्र सञ्चालनमा रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जितबहादुर राउतले बताए । उनले संथाले बचतमा ७.११ प्रतिशत, ऋण लगानीमा ९७ प्रतिशत, ऋण असुलीमा ९६ प्रतिशतले वृद्धि गरिएको बताए । उनले कोष रकममा २९.५५ प्रतिशत, खुद नाफामा ७४ प्रतिशतले वृद्धि गर्न सफल भएको जनाए । संस्थाले गत आर्थिक वर्षमा ३४ लाख ५९ हजार ५ सय ६० रुपैयाँ नाफा गरेको उनले जानकारी दिए ।

उद्यमशील बचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशनबाट अनिता श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन भएको सचिव विक्की श्रेष्ठले जानकारी दिए । उनका अनुसार समितिको उपाध्यक्षमा सिङ्गबहादुर मादेन, सचिवमा विक्की श्रेष्ठ, कोषाध्यक्ष कला राई चयन भए । सर्वसम्मत चयन भएको समितिको सददस्यहरूमा देशकुमार राई, मेघबहादुर राउत, राम कार्की, शान्तना श्रेष्ठ र आरती राई रहेका छन् । यस्तै लेखा समिति संयोजकमा देवचन्द्र सिवाकोटी चयन भए भने सदस्यहरूमा विमला राई, कुमारी मगर रहेका छन् ।

ब्लाष्टकर्मी सम्मानित
सोही अवसरमा उद्यमशील सहकारी संस्थाले ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठसहित २२ जनालाई सम्मान गरेको छ । कार्यकारी सम्पादक श्रेष्ठलाई नगद १० हजार पाँच रूपैयाँसहित सम्मान– पत्रले सम्मानित गरिएको हो । संस्थाले हरेक वर्ष एकजना पत्रकारलाई सम्मानित गर्दै आएको छ । यसअघि रणध्वज लोहार, रोहित राई, मनिता चाम्लिङ राईलाई सम्मानित गरेको थियो ।

bhojraj sir

यस्तै संस्थाले केन्द्रीय कार्यालय र देउराली सेवा केन्द्रबाट असल तथा नियमित बचतकर्तामा सुजन तिमल्सिना, समबहादुर राई, भीमा बानियाँ, राजेन्द्र सुयललाई सम्मान–पत्रले सम्मानित गरेको छ । यस्तै असल नियमित बचत तथा ऋण सदस्यमा शम्भुराज चौधरी, भूपाल विक, नयन श्रेष्ठ, पनिता राई, जनकबहादुर कार्की, मञ्जु राई कटुवाललाई सम्मानित गरेको छ ।

यसैगरी इटहरी सेवा केन्द्रबाट असल तथा नियमित बचतकर्तामा तुलसीप्रसाद भट्टराई, अविनाश श्रेष्ठ, उमेश घिमिरे, सुवास साह हल्वाईलाई सम्मानित गरेको छ । यस्तै असल नियमित बचत तथा ऋण सदस्य मनिष चौधरी, गीताकुमारी घिमिरे, तुलसा थापा, प्रकाश पाठकलाई सम्मानित गरिएको छ ।

यस्तै कर्मचारीतर्फ प्रधान कार्यालयबाट ज्योति राईलाई उत्कृष्ट कर्मचारीबाट पुरस्कृत गरेको छ । यस्तै देउराली सेवा केन्द्रबाट विनिता तामाङ र इटहरी सेवा केन्द्रबाट सुनिल चौधरीलाई उत्कृष्ट कर्मचारीबाट पुरस्कृत गरेको हो । उनीहरुलाई नगदसहितले सम्मानित गरिएको छ ।

यस्तै विशेष सहयोग सम्मानबाट इटहरीका रञ्जु कटुवाललाई सम्मान–पत्रले सम्मानित गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सांसद् रमेशकुमार बस्नेत, धरान–१० का वडाध्यक्ष विवेक राई, धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान–५ का वडाध्यक्ष मानप्रसाद लिम्बू, जिल्ला सहकारी सङ्घ लिमिडेटका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले सम्मान–पत्र हस्तान्तरण गरे ।