इटहरी । हिन्दु राज्यको मागसहित आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार इटहरीमा विरोधसभा आयोजना गरेको छ ।
कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राज्य व्यवस्थाकै कारण देशमा समस्या बढेको आरोप लगाएका छन् । जनताको अवस्था बदल्न व्यवस्था बाधक रहेको उनले बताए । ‘अर्बौं रुपैयाँ बैङ्कमा थुप्रिएको छ तर ऋण लिन कोही पनि तयार छैनन्’–उनले भने । देश बरबाद भएको बताउँदै अब देशले योभन्दा बढी बरबादी थेग्न नसक्ने बताए ।
उनले २०४६ सालपछिका उच्चपदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न पनि माग गरेका छन् । मुलुकमा भ्रष्टाचार, बेथिति बढेको भन्दै रवि लामिछानेको मात्र हैन, सत्ता गठबन्धनमा रहेका दलका नेताहरूसमेतको सम्पत्ति छानबिन गरिपर्ने माग गरे ।
देशभरि सरकारविरुद्ध खबरदारी सुरु गरेको राप्रपा नेता रामकुमार सुब्बाले शनिबार गौतम बुद्धको विद्रोह, महात्मा गान्धीको विद्रोहको स्मरण गराउँदै राप्रपाको विद्रोहले कसैलाई क्षति नहुने गरी जनताको मानसिकतामा विद्रोही भावना विकास गराउने गरी हुने चेतावनी दिए ।
कोशी प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई पार्टीका प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले एउटा मात्र निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिले देशको नेतृत्व गर्न नहुने बताए । देशभरिबाट छानिने व्यवस्था बनाउनु पर्ने उनको भनाइ थियो । देश जर्जर बन्दै गएको, भ्रष्टाचार मौलाएको, युवाहरू पलायन भएकोलगायत विषय उनले उठान गरेका थिए ।
अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारले प्रजातन्त्रको नाममा प्रजातन्त्र नै मास्ने काम गरेको आरोप लगाए । लोहनीले वैदेशिक रोजगारी र सरकारी उद्योग बन्द भएको विषयमा आलोचना गरेका थिए । राप्रपाले देशव्यापी खबरदारी कार्यक्रम गर्ने उद्घोष गरेको थियो । सोही योजना अनुसार इटहरीमा कार्यक्रम सम्पन्न गरेको हो ।