धरान । सूर्यदर्शन ऋण तथा बचत सहकारी पोखरा ठगी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसहित ६३ जनालाई प्रहरीले मुद्दा चलाएपछि देशभरका सहकारीको बचत अपचलनमा संलग्न व्यक्तिहरू पक्राउ पर्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि धरानबाट ६ जना व्यक्तिहरूलाई सहकारी ठगीको आरोपमा पक्राउ गरेको बताइएको छ । सहकारीको पैसा अपचलन गर्नेलाई पक्राउ गर्न सुरु गरेको हो । धरानका ठूला सहकारी वराह बचत तथा ऋण सहकारी संस्था र श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले शेयर सदस्यहरूको बचत अपचलन गरेका कारण सहकारीहरू बन्द छन् । बचतकर्ताहरू आफ्नो बचत रकम पाउनु पर्ने माग गर्दै आन्दोलन पनि गरिरहेका छन् ।
प्रहरीले वराह बचत तथा ऋण सहकारी सङ्ख्याका सञ्चालक सदस्य अस्मिता भण्डारी, सरिता कालिकोटेलगायतलाई पक्राउ गरेको स्रोतले बताएको छ । शुक्रबार जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरी ६ जनालाई शनिबार प्रहरीले पक्राउ गरे पनि आधिकारिक जानकारी भने दिएको छैन ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जिल्लाको टोलीले पक्राउ गरेको जानकारी दिए । अनुसन्धानमा असर पर्ने भएकाले पक्राउबारे प्रहरीले सार्वजनिक गरेको छैन । सहकारीको रकम अपचलन गर्ने सबै पक्राउ पर्ने एक प्रहरी अधिकृतले जानकारी दिए । केन्द्रको निर्देशनअनुसार प्रहरीले सहकारी ठगीमा उजुरी परेकाहरूलाई अनुसन्धानका लागि धमाधम पक्राउ गर्न थालेको हो । डुबेका सहकारीमध्ये धरानका वराह सहकारी र श्रेया सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिलेसमेत प्राथमिकतामा राखेर अनुसन्धान गरेको थियो ।
धरानको वराह सहकारीले बचतकर्ताको करिब ७ अर्ब रकम अनियमितता गरेको बताइएको छ । श्रेया सहकारीले १६ सय बचतकर्ताबाट करिब डेढ अर्बभन्दा माथि अपचन गरेको उजुरी परेको छ । अध्यक्ष लोकबहादुर खापुङ तथा अन्य सञ्चालकविरुद्ध प्रहरीमा उजुरीसमेत परेको थियो ।
एमाले सांसद् सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानूनविपरीत कारोबार भएको विषयमा छानबिन गरी कारबाहीको सिफारिस गरेको थियो । वराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मालाई समेत समितिले बयान लिएको थियो । समितिको प्रतिवेदनमा वराहका सञ्चालकहरू मानबहादुर विश्वकर्मा, विष्णुमाया विश्वकर्मा, गङ्गाबहादुर कालीकोटे, विष्णुकुमारी तुलाधर, अमरबहादुर विश्वकर्मा, शुभराज खातीलगायतले १० करोड ४७ लाख २९ हजार दुई सय ७३ रुपैयाँ आफै ऋण लिएको उल्लेख छ ।