भद्रपुर । घरेलु कामदारको रूपमा राखिएकी १६ वर्षीया नाबालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप पाँचदिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।

सात दिनको म्याद सकिएपछि शुक्रबार थप म्यादका लागि शिवाकोटीलाई प्रहरीले जिल्ला अदालत लगेको थियो । प्रहरीले अनुसन्धान नसकिएको बताउँदै थप म्याद मागेपछि पाँच दिनको म्याद थप गरिएको जिल्ला अदालतका श्रेस्तेदार किरण सिंहले बताए ।

यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न पहिलो पटक चार, दोस्रो पाँच र तेस्रो सात गरी १८ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडले शिवाकोटीलाई गत मङ्सिर २५ गते पक्राउ गरेको हो । शिवाकोटीकै घरमा आश्रित बालिका भागेर भारत जान लागेको अवस्थामा भेटिएपछि उनको पोल खुलेको थियो ।

लामो समयदेखि शिवाकोटीको घरमा आश्रित बालिका एकाएक भारततर्फ भाग्न लागेको आफन्तले थाहा पाएपछि आफन्त र सामाजिक संस्थाका प्रतिनिधिले मेचीनगरस्थित सीमानाकाबाट उद्धार गरेका थिए । विद्यालय पोसाकमै हिँडेकी बालिका भाग्नुको कारण थाहा पाएपछि घटनाको बारेमा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जानकारी गराइएको थियो ।

शिवाकोटीले बालिकामाथि गरेको चरम् दुव्र्यवहारका कारण यहाँ बस्न नसकेर आसाममा रहेकी आमा भेट्न बालिका जान लागेको थाहा पाएको प्रहरीले बालिकालाई लिन आएका शिवाकोटीलाई पक्राउ ग¥यो । शिवाकोटी बिर्तामोड निवासी भएकाले आफ्नो कार्यक्षेत्र नभएको भन्दै काँकडभिट्टा प्रहरीले शिवाकोटीलाई इप्रका अनारमनीको जिम्मा लगाएको थियो ।

के हो घटना ?

पीडित बालिकाको बाबुको मृत्यु भइसकेको छ भने आमाले पनि दोस्रो विवाह गरिसकेकी छन् । उनी बिर्तामोडस्थित एक आफन्तकोमा बस्दै आएकी थिइन् । शिवाकोटीले उनलाई पढाइदिने भन्दै बिर्तामोड–५ स्थित आफ्नो घरमा राखेका थिए । दोस्रो विवाह गरेर पीडितकी आमा भारतको आसाममा बस्दै आएकी छन् ।

स्थानीय एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेकी उनलाई शिवाकोटीले पटक–पटक करणी गरेको बताइएको छ । शिवाकोटीको शारीरिक शोषण सहन नसकेकी उनी भागेर भारतको आसाम जान लागेकी थिइन् । काँकडभिट्टास्थित सीमा नाकामा शङ्कास्पद रुपमा भारत जान लागेकी उनलाई आफन्त नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए । विद्यालय पोसाकमा रहेकी उनी फेरि त्यही घरमा जानुपर्छ भनेर अताल्लिएपछि उनलाई फकाएर सोधखोज गर्दा शिवाकोटीको कर्तुतका बारेमा बताएकी थिइन् ।

प्रहरीका अनुसार सोधपुछका क्रममा पूर्व नगर प्रमुख शिवाकोटीले जबरजस्ती करणी गर्ने गरेका कारण नेपालमा बस्न नसकेको प्रतिक्रिया दिएकी थिइन् । त्यसपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । शिवाकोटी हाल इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा छन् ।