विराटनगर । मोरङको बेलबारी नगरपालिका–१० स्थित सृजना सामुदायिक वनका पदाधिकारीहरूको मिलेमतोमा काठ मिललाई काठ बिक्री वितरण गरेको पाइएको छ ।
काठ मिललाई बिक्री गर्न लगेको एक ट्याक्टर काठ स्थानीयले सोमबार दिउँसो बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो । एक महिनाअगाडि सामुदायिक वनले चार जना उपभोक्तालाई बिक्री वितरण गरेको देखाएर १ सय ६९ क्यु.फिट सिसौ र कर्मा जातको काठ बेलबारी–७ बाहुनीस्थत गणेश काष्ठ उद्योगमा बिक्री गर्न लैजाने क्रममा स्थानीयले बरामद गरेका थिए ।
वनले बिक्री गरेको काठ मिल उद्योगका सञ्चालकले लगेको पाइएपछि सामुदायिक वनका अध्यक्षदेखि पदाधिकारीहरूको मिलेमतो रहेको स्थानीयले आशङ्का गरेका छन् । सामुदायिक वनले बेलबारी–१० की शोभा भुर्तेलसहित चार जना उपभोक्तालाई १ सय ६९ क्यु.फिट पुरानो काठ बिक्री गरेको देखाएका छन् । तर, उपभोक्ता भुर्तेलले भने आफूले काठ खरिद नगरेको बताएकी छन् ।
‘समितिका पदाधिकारीहरूले मिलेमतोमा काठ उद्योगलाई बिक्री गर्न लैजाने क्रममा हामीले बरामद गरेको हो’ बेलबारी–१० का स्थानीय ध्रुव महतले भने, ‘वनले बिक्री गरेको भनेको उपभोक्ताले हामीले काठ खरिद गरेको छैन भन्ने गरेका छन् । अनि यो काठ उपभोक्ताको नाममा खरिद गरेको देखाएर वन समूहका पदाधिकारीहरूले काठ मिललाई बिक्री गरेको हुनुपर्दछ । यो पदाधिकारीहरूको बदमासी हो । तेही भएर हामीले बरामद गरेको काठ अनुसन्धानको लागि डिभिजन वन कार्यालय बेलबारीमा पठाएका छौँ ।’ अनुसन्धानपछि घटनाका बारेमा थप कुरा खुल्ने उनले बताए ।
सव–डिभिजन वन कार्यालय बेलबारीका सहायक वन अधिकृत दीपेशकुमार मिश्रले काठ मिलमा बिक्रीको लागि लगिएको काठ बरामद गरेपछि स्थानीयले वन कार्यालयमा बुझाएको बताए । ‘काठ हेर्दा पुरानो रहेको छ । वन समूहका पदाधिकारीहरूले पनि उपभोक्तालाई काठ बिक्री गरेको भनेका छन् । यस विषयमा हामीले अनुसन्धान सुरु गरेका छौं’ उनले भने, ‘अनुसन्धान पूरा भएपछि मात्रै यथार्थ के हो भन्ने बुझ्न सकिन्छ । अहिले नै केही भन्न सक्ने अवस्था छैन ।’
यता सृजना सामुदायिक वनका अध्यक्ष देउमान लिम्बूले समूहको नियमअनुसार उपभोक्तालाई एक महिनाअगाडि काठ बिक्री गरेको बताए । ‘चार जना उपभोक्ताले निवेदन हालेपछि हामीले नियमअनुसार काठ बिक्री गरेको हो । बिक्री गरेको काठ पुरानो हो । पुरानो लगतमा भएको काठ नियमअनुसार बिक्री गरिएको हो’ उनले भने, ‘उपभोक्तालाई दिएको काठ कसरी काठ मिलसम्म पु¥याए, त्यो हामीलाई थाहा भएन ।’
सामुदायिक वनले दुईवटा मिललाई चिरानको लागि अनुमति दिएको थियो । तर वनले अनुमति दिएको ठाउँमा नलगेर अन्यत्र काठ मिलमा लैजाने क्रममा काठ बरामद गरेको हो । बेलबारीको सगरमाथा काष्ठ मिल र जेभी काष्ठ उद्योगमा रमना पुर्जी दिएको थियो । तर वनले दिएको रमना पुर्जीभन्दा बाहिर बेलबारी–७ बाहुनीमा रहेको गणेश काष्ठ मिलमा बिक्री गरेको पाएको हो ।