विराटनगर । मोरङको बेलबारी–१० स्थित सृजना सामुदायिक वनका पदाधिकारीहरूको मिलेमतोमा उपभोक्तालाई देखाएर मिललाई काठ बिक्री गरेको पाइएपछि रुख कटान रोकिएको छ ।

डिभिजन वन कार्यालय मोरङले आदेश गरेपछि मङ्गलबारदेखि सृजना सामुदायिक वनको रुख कटान पूर्णरूपमा रोकिएको हो  । अनुसन्धान प्रक्रिया पूरा नभएसम्मको लागि  सृजना समुदायिक वनभित्रको रुख कटानको काम पूर्णरूपमा रोक लगाएको डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले बताए । ‘अनुसन्धान प्रक्रिया पूरा नभएसम्मको लागि अहिले पूर्णरूपमा सृजना सामुदायिक वनभित्रको रुख कटानको काम रोकिएको छ’ उनले भने, ‘छानबिन समिति गठन हुनेछ । त्यसपछि समितिले दिएको प्रतिवेदनको आधारमा प्रक्रिया अगाडि बढ्नेछ ।’  सोमबार सृजना सामुदायिक वनको १ सय ६९ क्यु.फिट सिसौ र कर्मा प्रजातिका काठ उपभोक्तालाई बिक्री गरेको देखाएर काठ मिललाई बिक्री गर्न लैजाने क्रममा ट्याक्टरसहित स्थानीयले बरामद गरेका थिए । बरामद गरेको काठ अहिले सव–डिभिजन वन कार्यालय बेलबारीमा रहेको छ ।

एक महिनाअगाडि सामुदायिक वनले चार जना उपभोक्तालाई बिक्री वितरण गरेको देखाएर १ सय ६९ क्यु.फिट काठ बेलबारी–७ बाहुनीस्थित गणेश काष्ठ उद्योगमा बिक्री गर्न लैजाने क्रममा स्थानीयले बरामद गरेका थिए । वनले बिक्री गरेको काठ मिल उद्योगका सञ्चालकले लगेको पाइएपछि सामुदायिक वनको अध्यक्षदेखि पदाधिकारीहरूको मिलेमतो देखिएको स्थानीयको आरोप छ । स्थानीयको मागअनुसार डिभिजन वन कार्यालय मोरङले छानबिन समिति गठन गर्ने तयारी गरेको छ । 

अधिकृतको नेतृत्वमा छानबिन समिति बन्ने
बुधबार अधिकृतको नेतृत्वमा रहने गरी छानबिन समिति गठन गर्ने तयारी डिभिजन वन कार्यालयले गरेको छ । अनुसन्धान अधिकृत मोरङका प्रमुख जिल्ला अधिकारीले तोक्नेछन् । मङ्गलबार ढिलो भएकोले बुधबार अनुसन्धान अधिकृत तोकेर अनुसन्धानको प्रक्रिया अगाडि बढ्ने डिभिजन वन कार्यालयका प्रमुख थापाले बताए । ‘अधिकृतको नेतृत्वमा अनुसन्धान अधिकृत तोकिनेछ । अहिले नै भएको के हो भन्न सक्ने अवस्था नभएको उनले बताए । अनुसन्धान अधिकृतले दिएको प्रतिवेदनको अनुसार कारबाहीको प्रक्रिया पनि अगाडि बढ्ने उनले बताए ।

अनुमति नपाएको सालको रुख कटान गरेको आरोप
बेलबारी–१० स्थित सृजना सामुदायिक वन क्षेत्र करिब २ सय ३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । बेलबारी–१० र ८ नम्बर वडाको १ हजार ८ सय घरधुरी यस वनको उपभोक्ता रहेका छन् ।

आर्थिक वर्ष २०८१/०८२ मा सृजना सामुदायिक वनले कार्ययोजनाअनुसार ४ हजार ४ सय ३७ क्यु.फिट काठ निकाल्ने डिभिजन वन कार्यालयसँग अनुमति माग गरेको थियो । तर डिभिजन वन कार्यालयले १४ वटा सालको काठ र अन्य १८ गरी जम्मा ३२ वटा रुख कटानको लागि अनुमति दिएको छ । ३२ वटा रुख कटान गर्दा ३२ सय १९ क्यु.फिट हुन आउँछ ।
दाउरा  ८.५ चट्टा कटानको अनुमित पाएको छ । २८ मङ्सिर २०८१ बाट रुख कटानको लागि अनुमति पाएको छ । अहिलेसम्म सृजना सामुदायिक वनका अध्यक्ष देउमान लिम्बूले १२ वटा मात्रै रुख कटान गरेको दाबी गरेका छन् ।

उपभोक्ताहरूले भने वनका अध्यक्षसहित पदाधिकारीहरू मिलेर छपन लगाएको भन्दा बाहिरका दुईवटा सालको रुख कटान गरेको आरोप लगाएका छन् । अनुमति पाएकोभन्दा बाहिर गएर छपन नलगाएको रुख कटान गरेको भन्दै उनीहरूले अनुसन्धानको माग गरेका छन् । ‘डिभिजन वनबाट अनुमति पाएको भन्दा बाहिर गएर छपन नलगाएको दुईवटा रुख कटान भएको छ । राजमार्गदेखि उत्तर साइडमा दुईवटा सालको रुख कटान भएको छ । अनुमति विना छपन नलगाएको दुईवटा रुख ३ सय क्यु.फिट हुन आउँछ ।

यस विषयमा छानबिन हुनुपर्दछ’–बेलबारी–१० का उपभोक्ता ध्रुव महतले भने । यसअघि पनि गैरउपभोक्तालाई काठ बिक्री गर्दा बरामद गरेर सव–डिभिजन वन कार्यालयमा ट्याक्टरसहित काठ बुझाएको उनले बताए । ‘वनले बिक्री गरेको भनेको काठ उपभोक्ताले हामीले खरिद गरेको छैन भन्ने गरेका छन् । अनि यो काठ उपभोक्ताको नाममा खरिद गरेको देखाएर वन समूहले काठ मिललाई बिक्री गरेको हुनुपर्दछ । यो वन समूहको बदमासी हो । तेही भएर बरामद गरेको काठ हामीले अनुसन्धानको लागि सव–डिभिजन वन कार्यालय बेलबारीमा पठाएका छौँ’–उनले भने ।

यता सामुदायिक वनका अध्यक्ष देउमान लिम्बूले छपन नलगाएको एउटा रुख पनि कटान नगरेको दाबी गरे । ‘छपन नलाएको एउटा पनि रुख कटान गरिएको छैन । हामीमाथि निराधार आरोप लगाएका छन् । त्यसमा कुनै सत्यता छैन’ अध्यक्ष लिम्बूले भने, ‘अहिलेसम्म १२ वटा मात्रै अनुमति पाएका रुखहरू कटान भएको छ । कटान भएको लकडी अहिले सामुदायिक वनपरिसरमा घाटगद्दी बनाएर राखिएको छ । प्रक्रिया पूरा गरेर उपभोक्तालाई वितरण गरिनेछ ।’