विराटनगर । गाँजा उत्पादन र ओसारपसार प्रतिबन्धित छ । खेत–खेतमा पुगेर अभियानै चलाएर प्रहरीले फाँडेको खबर पनि नौलो छैन । यति हुँदा पहाडी जिल्लाहरूबाट आउने गाँजा भारत तस्करी हुने गरेको छ । भारततिर गाँजा तस्करीको लागि मोरङ र सुनसरीको सीमावत्र्ती क्षेत्र ट्रान्जिट पोइन्ट बन्ने गरेको छ । जसको ज्वलन्त उदाहरण मोरङको जहदा गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको घटनाले पुष्टि गर्दछ ।
मङ्गलबार राति भारत तस्करी हुन लागेको एक सय ५५ केजी गाँजा लोड भएको स्कारपियो र दुईजना कारोबारीलाई मोरङ प्रहरीले पक्राउ गर्यो । गाँजासहित पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटा सहिदभूमि गाउँपालिका–६ बस्ने वर्ष १९ का सुरज राई रहेका छन् । राहुल चालक हुन् भने गाँजा ल्याउने सुरज स्कारपियोमा सवार रहेका थिए । उनीहरूले सीमावर्ती क्षेत्रसम्म पुर्याउने र त्यसपछि भरियामार्फत् भारत तस्करी गर्ने क्रममा प्रहरीले गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ‘हामीसँग गाँजा भारत तस्करी हुने गरेको गोप्य सूचना आएको थियो । त्यसपछि हामीले चेकजाँचलाई कडाइ बनायौँ । मङ्गलबार राति ११ः१५ बजेको समयमा भारत तस्करी हुन लागेको गाँजा बरामद गर्न सफल भयौँ’–डिएसपी जोशीले भने ।
गाँजा भारत तस्करी हुन लागेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख इन्स्पेक्टर प्रकाश थापा कमाण्डको टोली परिचालन भयो । सुनसरीको धरानबाट विराटनगरतर्फ को.१ च ९५८२ नम्बरको स्कारपियो लाग्यो । त्यसपछि प्रहरी टोली अलर्ट भयो । विराटनगर महानगरपालिका–१८ भट्टाचोक झटिमाईमा रोक्न खोज्दा प्रहरीलाई ठक्कर दिन खोजी स्कारपियो जहदातिर लागेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशी र इप्रका रानीका इन्स्पेक्टर थापाको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा जहदा गाँउपालिका–१ धुनी टोलबाट स्कारपियालाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । उक्त गाडी चेकजाँच गर्दा गाडीको पछाडिको सिटमा प्लास्टिकमा प्याकिङ गरी बोरामा हाली लाँदै गरेको अवस्थामा एक सय ५५ केजी गाँजा बरामद गरेको डिएसपी जोशीले बताए ।
बरामद गरेको गाँजा धनकुटाबाट ल्याएको बताइएको छ । यो गाँजा भारत पु¥याउँदा प्रतिकेजी १५ देखि २० हजार रुपैयाँमा बिक्री हुने गरेको छ । प्रहरीले बरामद गरेको गाँजा भारत पु¥याउँदा गिरोहलाई २० लाख बढी आम्दानी हुने गरेको जानकार बताउँछन् । प्रहरीले पक्राउ गरेका प्रतिवादीहरूलाई बुधबार जिल्ला अदालत मोरङबाट लागूऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए । यसअघि सशस्त्र प्रहरी बल सुनसरीबाट खटिएको टोलीले भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रबाट एक सय ४८ केजी गाँजासहित उनीहरूलाई नियन्त्रणमा लियो ।
तस्करी धन्दामा लागेका गिरोहले गाँजाको बास्ना नआओस् भनी सडेगलेका तरकारीको मुनि हालेर ल्याउने गरेको प्रहरीले जनाएको छ । धनकुटाबाट ल्याएर प्रदेश ०१–०२–००१ ख ८६१४ नम्बरको मिनी ट्रकमा भारततर्फ लाने तयारी अवस्थामा राखेको ६ बोरा गाँजा बरामद गरिएको थियो । गाँजासहित धनकुटा जिल्ला सहिदभूमि गाउँपालिका–४ का ३६ वर्षीय हेमप्रसाद राई, सहिदभूमि गाउँपालिका–२ का ३६ वर्षीय हिकमत राई र सोही स्थानका ३५ वर्षीय आशिष राईलाई पक्राउ गरेको थियो ।
केही दिनअगाडि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ मा एउटा पिकअप भेनभित्र तस्करी हुन लागेको एक सय २० किलो गाँजा बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को.१ च ५३१८ नम्बरको पिकअपबाट एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको थियो । पहाडी जिल्लामा उत्पादन हुने गाँजा लुकाईछिपाई नाका कटाएर भारत पु¥याउने धन्दामा उनी संलग्न रहेको पाइएको छ । शृङ्खलाबद्ध रूपमा सुनसरी र मोरङको भारतसँग सीमा जोडिएको नाकाबाट तस्करी हुन लागेको गाँजा प्रहरीले बरामद गरेको घटनाले पनि यी दुई जिल्लाहरू गाँजा तस्करीको ‘ट्रान्जिट पोइन्ट’ बनेको छ ।
धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लामा उत्पादन हुने गाँजा पछिल्लो समय गाडीमा लोड गरेर गाँजा तस्करी गराउने गिरोह सक्रिय छन् । खुल्ला सीमाका कारण लागूऔषध र गाँजा कारोबारले मोरङ र सुनसरी प्रहरीलाई सुरक्षा चुनौती थपिँदै गएको छ । भारतसँगको खुल्ला सीमाको फाइदा उठाएर लागूऔषध र गाँजाको कारोबार बढ्दै गएकोले यस्ता कारोबार रोक्न प्रहरीलाई चुनौती थपिएको हो । भारततिर गाँजा तस्करी हुने गरेको गोप्य सूचना पाएसँगै ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिन सफल भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी जोशीले बताए । ‘सूचना पाएसँगै हामीले विभिन्न तवरबाट त्यस क्षेत्रमा गस्ती बढाउँदै गएका थियौँ; त्यसैको परिणाम ठूलो परिमाणमा गाँजा बरामद गरेका छौँ’–उनले भने । गाँजा तस्करको सञ्जाल बढ्दै गएको र उनीहरूले बेलाबखत रुट परिवर्तन गरिरहने भएकाले मातहतका आफ्ना युनिटमा नियन्त्रणका लागि योजनासहित निर्देशन दिइएको बताए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजन अधिकारीले तस्करीको मूल जरोमा पुग्न कठिन रहेको उनले बताए । केही जिल्लामा भारतीय तस्कर आएर खेत नै ठेक्कामा लिई गाँजा लगाउने गरेको सूचना पाएको उनले खुलाए । ‘रोपेको, मलजल गरेको र कुरेबापत केही पैसा पाए गरिब किसान मख्ख’ उनले भने, ‘अनि नेपालीलाई नै भरिया बनाएर सीमा कटाउने गरेको अहिलेसम्मको अनुसन्धानबाट खुल्छ ।’
खुला सीमाका कारण गाँजा रोक्न चुनौती रहेको उनको भनाइ छ । ‘यसको बजार धेरै ठूलो छ; रोक्नु हाम्रा लागि निकै चुनौतीपूर्ण छ’–उनले भने । गाँजालाई प्रशोधन गरी चरेस बनाइन्छ । औषधिमा समेत यसको प्रयोग हुन्छ । कानूनले वर्जित गरेको लागूऔषधको धन्दामा संलग्न रहेकाहरूले विभिन्न उपाय लगाएर ओसार–पसार गर्न थालेको पाइएको डिआइजी अधिकारीले बताए । बारीमा किसानले १ किलोको २५ सयदेखि चार हजार रुपैयाँसम्म पाउँछन् । विराटनगर आइपुग्दा २० हजार पुग्छ भने भारत पुग्दा २५ देखि ३० हजार भन्दा बढीमा कारोबार हुने भएकोले गाँजाको तस्करी हुने गरेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् ।