धरान । सुनसरी धरान उपमहानगरपालिका–२० कार्कीछाप कालीखोला सामुदायिक वन उपभोक्ता समूहको रुख कटान गरेको आरोपमा पक्राउ परेका भूपाल राईलाई सात दिनको म्याद थप गरिएको छ ।
उनले वनको जग्गामा गत बर्खामा घरसमेत बनाएको वन समूहका अध्यक्ष सम्फर तामाङले ब्लाष्टलाई यसअघि नै बताएका थिए । राईले विभिन्न प्रजातिका १२ वटा रुखहरू कटान गरेको अवस्थामा भेटिएपछि आइतबार विष्णुपादुका सव–डिभिजन वन कार्यालयले पक्राउ गरेको थियो । उनले कर्मा (करम), हल्लुडे र शिरिष प्रजातिका १२ वटा रुख कटान गरेको अवस्थामा भेटिएको विष्णुपादुका सव–डिभिजन वन कार्यालयका निमित्त प्रमुख फूलकुमारी भोटे (निमा)ले जानकारी दिएकी थिइन् । उक्त रुख कटान गरेको विषयमा पक्राउ परेपश्चात् जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थपिएको जिल्ला वन कार्यालयका प्रमुख डिएफओ खुद्रोस मियाँले जानकारी दिए ।
‘हिजो म्याद थप भएर कारबाहीको प्रक्रिया अगाडि बढेको छ’ उनले फोनसम्पर्कमा भने, ‘अब सर्जमिन भएर बिगो कायम गरी अदालतमा मुद्दा दायर हुन्छ ।’ घटनाको अनुसन्धानका लागि जिल्ला वन कार्यालयबाट रमेश रेग्मीलाई अनुसन्धान अधिकारीका रूपमा तोकिएको उनले जानकारी दिए । अनुसन्धान अधिकारी रेग्मीलाई फोनसम्पर्क गर्दा उनले भने, ‘ठुटाहरूको आधारमा अहिले बिगो कायम गर्ने प्रक्रिया अगाडि बढेको छ । हालसम्म काठ बरामद हुन सकेको छैन । खोजतलास गर्न सम्बन्धित सव–डिभिजन वन कार्यालयलाई भनेको छु ।’
ठुटाका आधारमै हाल बिगो कायम गरी अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए । ‘बढीमा ६ महिनासम्म कैद र ५० हजार रुपैयाँभन्दा बढी बिगो कायम हुनसक्छ’ उनले भने, ‘हाल बयान लिइसकेका छौँ । बयानको क्रममा दाउरा प्रयोजनका लागि म आफैले काटेको हुँ भनेर बयान दिएको छ ।’ उनका अनुसार आरोपी राईले आफैले काटेको हो भनेर स्वीकार गरिसकेकाले अब चाँडै अदालतमा मुद्दा दायर हुन्छ । सामान्यतः अदालतले तीन वर्षभन्दा बढी जेल सजाय हुने मुद्दामा मात्रै पुर्पक्षका लागि थुनामा पठाउने व्यवस्था छ भने त्योभन्दा कम सजाय भएको हकमा भने अदालतले धरौटीमा छाडिदिने चलन छ ।
‘बिगोको आधारमा सजाय हुने व्यवस्था छ । तीन वर्षभन्दा कम भएमा अदालतले धरौटी माग गरेर छाड्छ, के कति धरौटी माग्छ भन्ने हामीलाई थाहा हुँदैन । तर सात दिनको म्याद थप भई कारबाही प्रक्रिया अगाडि बढेको छ’–उनले फोनसम्पर्कमा भने । आरोपित राईले एउटा शिरिष, सातवटा हल्लुडे र चारवटा कर्मा जातको रुख कटान गरेको भेटिएको थियो । आरोपित राई उक्त क्षेत्रमा आफन्तकहाँ बस्दै आएका थिए भने केही समययता वन क्षेत्रमै घर बनाएको भेटिएको सम्बन्धित वनका पदाधिकारी बताउँछन् । करिब सात वर्षअघि उक्त क्षेत्रमा सुकुम्बासीको नाममा बस्ती बसे पनि वन कार्यालयले हटाएको थियो ।