भद्रपुर । झापाको भद्रपुर नगरपालिका–५ स्थित नेपाल–भारत जोड्ने मेची पुलको दुवैतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी चौबिसै घण्टा खटिने गरेका छन् । पुलको वारिपट्टि वडा प्रहरी कार्यालय छ भने र पारिपट्टि पुलसँगै नेपाल प्रहरीको बिट र सशस्त्र प्रहरीको चेक पोष्ट छ । मेची पुल सुरक्षा निकायको प्रत्यक्ष निगरानी अर्थात् सुरक्षा निकायको आँखैको सामुन्ने रहे पनि विद्युत्को तार चोरी हुँदै आइरहेको छ ।

पुलबाट साँझ बिहान आम सर्वसाधारणलाई आवत–जावतका लागि सहज गराउने उद्देश्यले भद्रपुर नगरपालिकाले मेची पुलमा सडक बत्तीको व्यवस्था गरे पनि विद्युत् तार चोरीका कारण दुई महिनादेखि पुल अन्धकारमय बनेको छ । पुलमा बत्ती नबल्दा साँझ बिहान पुलबाट आवत–जावत गर्न ज्यादै समस्या भएको स्थानीयवासी गुनासो गर्छन् । पाँच वर्षअगाडि उद्घाटन गरिएको मेची पुलमा ३ वर्षअगाडि सडक बत्ती जडान गरिएको थियो । पुलमा रहेको २१ वटा सडक बत्तीको स्वीच वडा प्रहरी कार्यालय भद्रपुरमा रहेको छ । सुरक्षा निकायको प्रत्यक्ष निगरानी रहँदा रहँदै पनि बत्तीको तार चोरी हुनुमा वारिपारि तस्करी गर्ने व्यक्तिहरू वा लागूपदार्थ सेवनकर्ताले तार चोरी गरेको हुनसक्ने सुरक्षा निकायले अनुमान गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुख इन्स्पेक्टर लोककृष्ण दाहालले पुलमा रहेको बत्तीको स्वीच वडा कार्यालयमा रहेकोले सधैँ चासो र चिन्ता लिने गरेको बताउँछन् । तर, पनि चोर हामीभन्दा एक स्टेप अगाडि भएको उनले बताए । ‘हामीले चोरको खोजी गरिराखेका छौँ । हामीलाई वारिपारि तस्करी गर्ने र लागूऔषध प्रयोगकर्ताप्रति शङ्का छ । सोधपुछ जारी राखेका छौँ ।’

पुलको सडक बत्तीको तार नियतवश चोरी गरिएको सर्वसाधारण बताउँछन् । सडक बत्तीसँगै पुल पारि प्रहरी बिट र सशस्त्र प्रहरीको चेक पोष्टका लागि लगिएको बत्तीको तार भने केही गरिएको छैन । सँगै रहेको सडक बत्तीको तार चोरी हुनु र सुरक्षा निकायको लागि लगिएको तार केही नहुनुले शङ्का उब्जाएको स्थानीयवासी बताउँछन् । भद्रपुर–५ अन्तर्गत पर्ने मेची पुलमा सडक बत्तीको तार चोरी हुनु समस्याको रूपमा रहेको वडाध्यक्ष बन्धु कार्की बताउँछन् । उनले भने, ‘चोरसँग केही लाग्दो रहेन छ, ताल्चा–साँचो, प्रहरी प्रशासन भनेको सज्जन भलाद्मीका लागि रहेछ । एक पटक होइन, पटक–पटक तार चोरी भएको छ । प्रहरीले पनि चोरको खोजी गरिरहेको छ, तर अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।’

साँझ बिहान पुलबाट आवत–जावत गर्न सबैलाई सुविधा होस् भनेर नगरले बत्ती जडान गरेको हो । लामो समयदेखि पुलमा बत्ती बल्न सकेको छैन; नगर प्रमुखसँग पनि छलफल भएको छ । नगरले पुलमा बत्ती नहाले पनि ५ नं. वडाले आफ्नै बजेटबाट भए पनि पुसभित्रमा पुलमा बत्ती लगाउने उनले आश्वासन दिए । नगर प्रमुख गणेश पोखरेलले विद्युत्का प्राविधिकलाई मेची पुलमा सडक बत्ती तत्काल व्यवस्थित गर्न निर्देशन दिएको बताए । विद्युत् प्राविधिक छत्र नेपालले मेची पुलमा पटक–पटक तार चोरी भएकोले वैकल्पिक उपायसहित तार जडान गरेर सडक बत्ती बाल्नु पर्ने बताए । ‘पहिले पनि तार चोरी भएको थियो; तार जोडेर पुलको सडक बत्ती बालेका थियौँ । फेरि तार चोरी भयो । पछिल्लो पटक कसैले बत्तीको विषयमा चिन्ता र चासो देखाएका छैनन्’ उनले भने, ‘नगरप्रमुखबाट बत्ती जडानको लागि निर्देशन भएको छ, हामी तारको सुरक्षा कसरी गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ ।’

जिन्सी शाखा प्रमुख गणेश श्रेष्ठ मेची पुलको सडक बत्तीको २ पटक चोरी भएको र २ पटक नै तार जोडेर बत्ती बाल्ने काम भएको बताउँछन् । पुलको सडक बत्तीको तारको सुरक्षाको लागि वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचारसमेत गरेको उनले बताए । अब तार हाल्दा सुरक्षाको व्यवस्थासहित हाल्नु पर्ने उनको भनाइ छ ।

कसरी सुरक्षित गर्ने त ?
मेची पुलको सडक बत्तीको तार चोरी रोक्ने उपायमा तारलाई विद्युत्को पोलको माथिल्लो भागबाटै लैजानु नै उत्तम उपाय हो । नगर प्रमुख गणेश पोखरेल विद्युत् पोलको माथिबाटै तार लग्नुपर्ने बताउँछन् । ‘पटक–पटक तार चोरी भयो, अब पोलको माथिबाट नै तार लग्नुपर्छ अनि मात्र तार चोरी हुँदैन, नत्र फेरि पनि चोरले नचोर्ला भन्न सकिन्न’–उनले भने । ५ नं. वडाका वडाध्यक्ष बन्धु कार्की पनि पोलबाटै तार लग्नुपर्ने बताउँछन् । वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहाल पनि तार चोरी हुनबाट बचाउन पोलको माथिबाटै तार लग्नुपर्ने बताउँछन् ।