धरान । विभिन्न विषयमा पुस्तक लेख्दै आएका मोरङ पथरीका दीपेन्द्रराज तिम्सिना काठमाडौंमा सम्मानित भएका छन् ।

उनलाई राष्ट्रिय धरोहर प्रतिष्ठान समाज नेपालले बुधबार १२ औं राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले  तिम्सिनालाई दोसल्ला ओढाई अभिनन्दन–पत्रसहित सम्मान गरे ।

पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको विषयमा गहिरो खोज अनुसन्धान गरी नेपालमै पहिलोपटक गुमनाम एक इतिहास बिसे नगर्ची पुस्तक प्रकाशन गरी गौरवमय इतिहास खोज, लेखन गरेकाले राष्ट्रिय धरोहर बिसे नगर्ची स्मृति सम्मानले  सम्मानित गरिएको समाजका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए । 

तिमिल्सिनाले बिसे नगर्चीको इतिहास गोरखासम्म नै पुगेर खोज अनुसन्धान गरी लेखेका छन् । सोही कार्यक्रममा अन्य विभिन्न क्षेत्रका १९ जनालाई आयोजकले सम्मान गरेको जनाएको छ ।