इनरुवा । हरिनगर गाउँपालिकामा शुक्रबार सार्वजनिक सुनुवाइ चलिरहेको थियो । कार्यक्रमको अध्यक्ष थिए, सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामचन्द्र तिवारी । जिल्ला सुरक्षा समिति सुनसरीले आयोजना गरेको उक्त कार्यक्रमकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले चाँजोपाँजो मिलाएको थियो । सीमावर्ती दक्षिणीभेग हरिनगर र देवानगञ्ज गाउँपालिकालाई लक्षित गरी आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम इप्रका हरिनगरअगाडि आयोजना गरिएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रजिअ तिवारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारी र पालिका प्रमुख, उपप्रमुखलगायतको उपस्थिति थियो । स्थानीयका गुनासो सुन्ने, समस्याको पहिचान गरी समाधान पहिल्याउने र कानूनका विषय बारेमा आमनागरिकलाई जानकारी गराउने उद्देश्य थियो कार्यक्रमको । सोही बमोजिम कार्यक्रम तालिका निर्धारण गरिएको थियो । सर्वसाधारणले उठाएका जिज्ञासाका सवालमा सरोकारवालाले धारणा राख्दै गर्दा कार्यक्रमस्थलको माहोल एकाएक गर्मायो ।

वृद्ध महिला हस्याङ्फस्याङ गर्दै प्रजिअतर्फ लम्किइन् । ह्वाँह्वाँ गर्दै रुँदै उनी प्रजिअको खुट्टा समात्न पुगिन् । आफ्नो खुट्टा समाएर वृद्ध महिला रुन थालेपछि प्रजिअ तिवारी छक्क परे । कार्यक्रममा एकाएक सन्नाटा छायो । वृद्धाका श्रीमान्समेत प्रजिअको खुट्टा समाउन पुगे । सबैको ध्यान खिचेपछि प्रजिअ तिवारीले प्रहरीलाई घटनाक्रम बुझेर रिपोर्ट गर्न भने । तर वृद्धवृद्धाले खुट्टा छोडेनन् । तिवारी आफैले सम्झाएर उनीहरूलाई प्रहरीको जिम्मा लगाए । उक्त विषय के रहेछ भनी बुझ्न वृद्ध महिलालाई सोधियो । उनले रुँदै भनिन्, “मेरो जग्गा साहुले खाइदियो । लिएको पैसा तिर्दासमेत दिन्न भन्छ । हाम्रो बिचल्ली भयो ।” हन्सादेवी महतो नाम बताउने ती वृद्ध महिलाले आफ्नो घर हरिनगर–४ मा रहेको बताइन् । उनले हरिनगर–४ कै लखन महतोले आफ्नो जग्गा हडपेको सुनाइन् ।

हन्साका अनुसार छोरीको बिहेका लागि ७ धुर जग्गा राखेर चार लाख २० हजार ऋण लिएका थिए । जसमध्ये तीन लाख बुझाएको उनले सुनाइन् । बाँकी रकम तिर्न जाँदा लखनले साँवा ब्याज गरेर १७ लाख बढी भयो भनेर थर्काएर पठाएको उनले गुनासो पोखिन् । ‘जग्गा दिन्न भनेर हप्काउँछ । न्याय पाउने आशामा हाकिम सर भेट्न आएको’–उनले भनिन् । उक्त विषयलाई प्रजिअले समेत गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए ।

उक्त कार्यक्रममा सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले जिल्लाको वस्तुस्थितिबारे जानकारी गराए । उनले जिल्लामा बढ्दो लागूऔषध सेवनकर्ताको सङ्ख्या घटाउन अभिभावकसमेतको साथ सहया्गआवश्यक रहेको बताए । छोटो समयमै फरार प्रतिवादी पक्राउमा ठूलो सफलता हात पारेको बताएका एसपी तिम्सिनाले सीमा वारपार तस्करी, लागूऔषधको कारोबार र आपराधिक क्रियाकलाप नियन्त्रणमा सुनसरी प्रहरी लागिपरेको बताए । एसपी तिम्सिनाले सूचनाको सवालमा भने आम नागरिकको समन्वय र सहकार्यको खाँचो रहेको औँल्याए ।

जिल्लाका सरोकारवालाको उपस्थितिबीच आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सर्वसाधारणले मलखादको समस्या, खुला बोर्डर, चोरी तस्करी, लैङ्गिक हिंसा, घरायसी झै–झगडा र किचलोका साथै शिक्षा, स्वास्थ्य र मजबुत सुरक्षा व्यवस्था लगायतका बारेमा सवाल उठाएका थिए । उठेका जिज्ञासा र सवालका बारेमा प्रजिअ तिवारीले जवाफ दिएका थिए । उक्त कार्यक्रममा बोल्दै प्रजिअ तिवारीले भने, “कानून उल्लङ्घन गर्न कोही कसैले पाउँदैन । मर्कामा परेका नागरिकका सवालमा प्रहरी प्रशासन सदैव साथमा रहन्छ । तर कानून विपरीतका कार्य भएमा क्षमा हुँदैन ।”