विराटनगर । ठगीबारे समाचार प्रकाशित भएपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले हतार–हतार अनिल पोखरेललाई स्वकीय सचिवबाट हटाएका छन् । अनिलले एबीबीबीएसमा नाम निकालिदिने भन्दै एक व्यक्तिको ३८ लाख ८० हजार रकम ठगी गरेको समाचार ब्लाष्टले प्रकाशन गरेको थियो ।
समाचार आएपछि शुक्रबार नै पोखरेलले सङ्घीय संसद् सचिवालयलाई पत्र लेखेर स्वकीय सचिवलाई हटाएका हुन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाएका हुन् । सभापति पोखरेलले संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, ‘मेरो स्वकीय सचिवका रूपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । निजमाथि लगाइएका विभिन्न आरोपको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैका मितिदेखि लागू हुने गरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।’ अनिल २०७९ को निर्वाचनमा कोशी प्रदेशसभाका लागि मोरङ–२ (२) बाट उम्मेदवार सिफारिस भएका थिए तर पछि त्यस क्षेत्रबाट लीलावल्लभ अधिकारीले टिकट पाए । टिकट नपाएपछि अनिललाई ऋषिकेशले स्वकीय सचिव बनाएका थिए ।
पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै पैसा बुझेको प्रमाण भेटियो
ठगी आरोप लागेको नेकपा (एमाले)का सांसद् एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ बुझेको चेकको अर्धकट्टीमा हस्ताक्षर गरेको प्रमाण भेटिएको छ ।
एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका पोखरेलले एबीबीबीएसमा नाम निकालिदिने भनेर २०७३ साल मङ्सिर २२ मा ३८ लाख ८० हजार रुपैयाँ बुझेको चेकको अर्धकट्टी भेटिएको हो । ‘तपाईंको छोरी दीक्षा चौधरीलाई एमबीबीएसमा भर्ना गराउन लाग्ने ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत् लिएको छु । एमबीबीएसको नाम निकालेपछि होस्टलमा राख्ने व्यवस्था मिलाउने जिम्मा मेरो भयो’ भन्ने उल्लेख गरी चेकको अर्धकट्टीमा पोखरेलले हस्ताक्षर गरेका छन् । वरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकास प्राप्त सप्तरी घर भएका बौआलाल चौधरीले विराटनगर–१४ स्थित डिग्री क्याम्पसअगाडिको एक कठ्ठा जग्गा बिक्री गरेर अनिललाई पैसा दिएको बताए ।
‘दुःख गरेर कमाएको पैसाले किनेको एक कठ्ठा जग्गा ४० लाखमा बिक्री भयो । जग्गा बिक्री गरेको पैसाबाट २०७१ देखि ०७३ का बीचमा पटक–पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत् अनिललाई पैसा दिएको उनले बताए । ‘एमबीबीएसको प्रवेश परीक्षामा छोरीलाई उत्तीर्ण गराइदिने र होस्टलमा राख्ने वातावरण मिलाइदिने भनी विश्वासमा पारेपछि मैले पैसा दिएको हो’ बौआलालले भने, ‘उसले भनेजति पैसा बुझेपछि विराटनगरमा आएर चेकको अर्धकट्टीमा हस्ताक्षर गरेका हुन् ।’
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलालले पहिलो किस्ताबापत २०७१ फागुन १३ मा साथी केदारप्रसाद घिमिरेमार्फत् अनिललाई ५० हजार रुपैयाँ दिएका थिए भने पछि रामदेव सिंहमार्फत् एक लाख रुपैयाँ नबिल बैङ्कमा रहेको अनिलको खाता नं. ३५१००१७५०३९८१ मा जम्मा गरेको बैङ्क भौचरमा उल्लेख छ । २०७३ जेठ १३ मा नबिल बैङ्कको सोही खातामा एक लाख ३० हजार जम्मा गरिएको थियो । २०७३ मङ्सिर २२ मा बौआलालले एकमुष्ठ १८ लाख रुपैयाँ जम्मा गरिदिए ।
‘पटक–पटक गरी मैले ३८ लाख ८० हजार रुपैयाँ बुझाएको छु’ बौआलालले भने, ‘जीवनभर कमाएको पैसाले जग्गा जोडेको थिएँ । तेही जग्गा बिक्री गरेर छोरीलाई डाक्टर बनाउने सपना देखेको थिएँ । ठगको फन्दामा परेर जीवनभर कमाएको सबै पैसा अनिलले खाइदियो ।’ पैसा लिएपछि अनिल करिब ३–४ महिना सम्पर्कविहीन भएको उनले बताए । एमबीबीएसको प्रवेश परीक्षामा छोरीको नाम निस्केला भनेर पर्खेर बसेका बौआलाल उनी सम्पर्कविहीन भएपछि निराश भए । ‘बल्लतल्ल सम्पर्क हुँदा कहिले अष्ट्रेलिया पुगेको छु भन्थे, कहिले क्यानाडा’ बौआलालले भने, ‘त्यो बेला म र परिवार पूरै तनावमा थियौँ ।’ उनका अनुसार एक पटक अनिलले सहकारीमा पैसा राखेको र चाहिएका बेला झिक्न मिल्ने बताएका थिए । अर्को पटक भने क्यानाडाबाट आफ्नो एक करोड रुपैयाँ आउन लागेको र आउनेबित्तिकै पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए । ३८ लाख ८० हजार रुपैयाँ दिएपछि पनि अझै ‘४० लाख रुपैयाँ भए दिनू फिर्ता गरिदिइहाल्छु’ भन्दै माग्ने गरेको बौआलालले सुनाए ।
एक पटक पैसा नभएको बैङ्क खाताको चेक दिन खोजेको भए पनि आफूले बुझ्न नमानेको बौआलालले बताए । अर्को पटक सहकारीमार्फत् सम्मेलनमा भाग लिन विदेश गएको र फर्किनेबित्तिकै पैसा फिर्ता गर्ने भनी पटक–पटक आश्वासन दिँदै आएको उनले बताए । यसबीचमा एमाले मोरङको जिल्ला अधिवेशनताका पनि अनिलको ठगी धन्दाबारे बौआलालले ध्यानाकर्षणसहित निवेदन दिएका थिए । तर एमालेबाट बौआलालले सहयोग पाएनन्, अनिलले भने संरक्षण पाइरहे ।
२०७९ साउन ९ मा भने हिसाब चुक्ता गरिदिन्छु भनेर अनिलले आफूलाई बोलाएको बौआलालको भनाइ छ । ‘तपाईंको हिसाब चुक्ता गरिदिन्छु, आउनुहोस् भनी बोलाई ८–१० जनाको समूहले मलाई २०७४ असार २५ गते आइतबारको मिति राखिएको कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराए’ उनले अदालतमा दिएको निवेदनमा उल्लेख छ । त्यसपछि बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानूनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रङ्गेली पुगे । प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार गर्यो । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन । बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन । बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपछि ठगीमा अनुसन्धान अगाडि बढाइएन । त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका हुन् ।
उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले गत साता अनिलविरुद्ध जाहेरी दर्ता गरी कानूनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ । बौआलालले जाहेरी नदिएको र हुलाकबाट समेत कुनै जाहेरी दरखास्तको उजुरी नआएको दाबी प्रहरीले अदालतमा गरेको थियो । उच्च अदालतले भने बौआलालले प्रहरीमा जाहेरी दिएको प्रमाण इजलासमा नै प्रहरीलाई देखाएको थियो ।
यसरी भएको थियो चिनजान
२०७१ सालमा कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र झुम्का, सुनसरीको प्रमुख थिए, बौआलाल । त्यसबेला बौआलालको साथी रामदेव सिंहमार्फत् अनिलसँग चिनजान भएको थियो । चिनजानका क्रममै अनिलले आफ्नो ‘माथिसम्म’ राजनीतिक पहुँच रहेको बताएपछि बौआलालले सहजै पत्याए । श्रीमती पनि बीएस्सी नर्सिङ भएकोले छोरीलाई डाक्टर बनाउने सपना चौधरी परिवारको थियो । त्यतिबेला छोरी एसएलसी सकेर बसेकी थिइन् । डाक्टर पढ्ने छोरीको धोको पूरा गर्न बौआलालले अनिलसँग सहयोग मागे । त्यसपछि अनिलले ‘म नाम निकाल्न लगाइदिन्छु तर त्यसबापत पैसाचाहिँ निकै खर्च गर्नुपर्छ’ भनेको बौआलालले सुनाए ।
‘न्याय पाउने आशा पलायो’
विराटनगर । अदालतको परमादेशपछि न्याय पाउने आशा जागेको बौआलालले बताए ।
धेरै दुःख गरेपछि अहिले अदालतले परमादेश दिएपछि न्याय पाउने आशा पलाएको उनले बताए । ‘३८ लाख ८० हजार रुपैयाँ डुबेपछि पैसा फिर्ताको लागि प्रहरी प्रशासनदेखि राजनैतिक दलका नेताको घरसम्म पुगे । तर, कतैबाट न्यायको ढोका खुलेन । ‘धेरै ठाउँ, धेरै मान्छेलाई भन्दा–भन्दा थाकेको मान्छे हुँ म । त्यसपछि मेरो मित्र वसन्त अर्यालमार्फत् एक जना कानून व्यवसायीलाई लिएर उच्च अदालतमा अनुसन्धान गरिपाऊँ भनेर रिट निवेदन दर्ता गराएँ । अहिले अदालतले आदेश दिएको छ । न्यायको बाटो खुलेको छ । अब मलाई मेरो पैसा फिर्ता चाहियो’–उनले भने ।
राजनीतिक रूपमा केन्द्रसम्म पहुँच भएका अनिलविरुद्ध अब कसरी अनुसन्धान हुन्छ भन्ने प्रश्न पनि खडा भएको छ । उनी आबद्ध दल एमालेको नेतृत्वमा केन्द्र र प्रदेशमा सरकार रहेको छ । अनिललाई स्वकीय सचिव बनाउने ऋषिकेश पोखरेलले पनि राजनीतिक पहुँचमा सहकारी ठगीकी अभियुक्त श्रीमतीलाई जोगाउँदै आएका छन् । ऋषिकेशकी श्रीमती अञ्जला कोइराला मोरङ धनपालथान गाउँपालिका–४ को उमागौरी सहकारी ठगीमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएयता फरार छिन् ।