धरान । धरानको वराह ग्रुप प्रा.लि. र वराह ऋण तथा बचत सहकारी संस्था सञ्चालकविरुद्ध आइतबार अबेरसम्म ४ सय ८६ जना बचतकर्ताले जाहेरी दिएका छन् ।

पासबुक पेस गरेर आफूहरूको बचत रकम नदिएको भनेर उजुरी लिएर जानेसमेत गरेर ६ सय ८५ जना पीडितहरू पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी इन्स्पेक्टर दिनेश अधिकारीका अनुसार ९५ करोड ४२ लाख ६९ हजार ३३ रुपैयाँ बिगो माग दाबी पीडितहरूले गरेका छन् । २८ जना विरुद्धको जाहेरीमा १० जना पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । कसले कति अपचलन गरेको छ भन्ने अध्ययन भइरहेको छ’ इन्स्पेक्टर अधिकारीले भने, ‘६ वटा मिसिल तयार भएका छन् । प्रहरी प्रशासन यतिबेला यही मुद्दामा लागिपरेको छ । समय पनि केही लाग्ने देखिन्छ ।’

पक्राउ पर्नेहरूमा लेखापाल अर्पना श्रेष्ठ, ऋण उपसमिति सदस्य अस्मिता भण्डारी, सञ्चालक सदस्यहरू शेरबहादुर महत क्षेत्री, सरिता कालीकोटे, रवि पोर्तेल, जतनमाया विश्वकर्मालगायत रहेका छन् ।

मानबहादुर र गङ्गाका श्रीमतीको बन्दीप्रत्यक्षीकरण रिट खारेज
वराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा र सहकारीको प्रशासन प्रमुख गङ्गा कालीकोटेकी श्रीमती सरिता कालीकोटेसहितलाई गत पुस १२ गते प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो । विश्वकर्मा र कालीकोटेको तर्फबाट पवन विकले आइतबार जिल्ला अदालत सुनसरीमा बन्दीप्रत्यक्षीकरण रिट हालेका थिए ।

सो रिट जिल्ला अदालत सुनसरीका न्यायाधीश दुर्गाप्रसाद बस्यालको एकल इजलासले शुक्रबार रिट खारेज गरिदिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुमन तिम्सिनाले जानकारी दिए । जाहेरी आउने क्रम पनि जारी रहेको छ । कुनै व्यक्तिले कति अपचलन गरेको भन्ने विषयमा अध्ययन भइरहेको एसपी तिम्सिनाले बताए ।

मुख्य व्यक्ति अझै फरार
वराह ग्रुप प्रा.लि.का अध्यक्ष शिव लामिछानेसहित सञ्चालकहरू र वराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मा, प्रशासकीय प्रमुख गङ्गा कालीकोटे, ऋण अधिकृत, लेखा प्रमुखलगायतका व्यक्ति भने अझै पक्राउ गर्न सकेका छैनन् । प्रहरीले फरार अभियक्तहरूको खोजी जारी रहेको जनाएको छ । वराह सहकारीमा १० हजारदेखि ४० करोडसम्म एउटा व्यक्तिले राखेका थिए । सहकारीमा  १८ हजारभन्दा बढी बचतकर्ताको करिब ९ अर्ब रुपैयाँ डुबेको छ ।